खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँ रहेका छन् ।

शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटवार्ता भएको छ । शुक्रबार इलामको माङसेबुङ ५ स्थित गुरुको निजी आश्रममा पूर्व प्रधानमन्त्री खनालले किरात धर्मगुरुसँग मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटवार्ता गरेका हुन्

भेटवार्तामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगु र पूर्व मन्त्री तथा संसद् खिनु लङवा समेत सहभागी थिए । आगामी वैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूले किरात धर्मगुरुसँगको भेटलाई तीव्र बनाएका छन् ।

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन् ।

नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताए । उनले नगरवासीको सुविधाका निम्ति बाटो, भवन, पुललगायत संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत दमनसिंहलेअब सेवा प्रवाहमा सहजता हुने बताउँदै जनभावनाअनुसार जनप्रतिनिधि र कर्मचारीले नगरवासीको सेवा गर्ने विश्वास व्यक्त गरे ।

तत्कालीन नारायणपुर गाउँ विकास समितिका पूर्वअध्यक्ष फकिरसिंहले सेवा प्रवाहमा सुधार गरी नागरिकको मन जित्न सुझाव दिए ।

कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले जिल्ला समन्वय समिति, नगरपालिका लगायत निकायले भवन निर्माणमा सघाएकामा कृतज्ञता व्यक्त गरे ।

पेमेन्ट गेटवे अनियमितता प्रकरण : सुनील पौडेल दोषी, सचिव मरासिनीसहित ८ लाई सफाइ

काठमाडौँ — सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) का लागि उपकरण तथा परामर्श सेवा खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक दोषी ठहर भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक छँदा भएको पेमेन्ट गेटवेका उपकरण र परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरण : सुनील पौडेल दोषी, सचिव मरासिनीसहित ८ लाई सफाइ
यो मुद्दाका प्रतिवादी सरकारका सचिव मधुकुमार मरासिनी र पूर्वसचिव सञ्जय शर्मासहित ८ जनाले भने अदालतबाट सफाइ पाएका छन् । विशेषले सचिव मरासिनी र तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (केन्द्रका अध्यक्ष) शर्मासहित तत्कालीन कार्यकारी निर्देशक प्रणीता उपाध्याय, केन्द्रका सहायक निर्देशक रमेश पोखरेल, लेखा अधिकृतद्वय रामबहादुर बुढा र निमबहादुर वली, कम्प्युटर इन्जिनियर रामशरण गायक र वर्तमान उपनिर्देशक सफल श्रेष्ठलाई सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल, सचिव मरासिनी र पूर्वसचिव शर्मासहित नौ जनाविरुद्ध यो प्रकरणमा २०८० असोज १५ मा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अभियोग दायरको ७ महिनामै विशेष अदालतले मुद्दाको किनारा लगाएको छ । अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई मात्रै दोषी ठहर गरी बाँकी आठै जना प्रतिवादीलाई सफाइ दिएको हो ।

पौडेलविरुद्ध हुने सजाय निर्धारण गर्न अदालतले वैशाख २५ मा पेसी तोकेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए । टेलिकमको प्रबन्ध निर्देशक नियुक्त हुनुअघि पौडेल केन्द्रको कार्यकारी निर्देशक थिए । त्यही बेला भएको पेमेन्ट गेटवेका उपकरण र परामर्श सेवा खरिद प्रकरणमा दोषी ठहर भएका हुन् । पछिल्लो पटक विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले यो मुद्दालाई प्राथमिकतामा राखेर निरन्तर सुनुवाइ गरेको थियो ।

सफाइ पाएका मरासिनी निलम्बनमा थिए । मुद्दा दायर हुँदा उनी उद्योग सचिव थिए । अर्थको बजेट महाशाखा प्रमुख छँदा प्रक्रिया छलेर रातो किताबमा बजेट घुसाएको र यसरी मिलेमतोमा उपकरण खरिदका लागि मरासिनीले बजेटको बन्दोबस्त गरिदिएको र अभियोगमा अख्तियारले प्रतिवादी बनाएको थियो । आफू मातहत र माथिल्लो निकाय/अधिकारीलाई जानकारी नै नदिई सिलिङभन्दा बाहिर गई २५ करोड रकम विनियोजन गरी रातो किताबमा समावेश गराएको भन्दै अख्तियारले प्रतिवादी बनाएको थियो ।

राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्नुपूर्व सो प्रणालीलाई प्रभावकारी बनाउन राष्ट्र बैंक र अन्य बैंक तथा महालेखा नियन्त्रक कार्यालयलगायत वित्तीय संस्थाहरूसँग समन्वय र संयोजन गर्नुपर्नेमा त्यसको पहिचानसमेत नगरी र पूर्वतयारीबिना उपकरण र परामर्श सेवा खरिद गरेको र खरिद गरेका उपकरण प्रयोगमा नल्याई सरकारी सम्पत्ति हानिनोक्सानी गरेको अनुसन्धानबाट खुलेको थियो ।

२०७५ असार २९ भित्र पेमेन्ट गेटवेको पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी केन्द्रले स्वीडेनको ‘सीएमए स्मल सिस्टम एबी’ सँग सम्झौता गरेको थियो । तीनवटा बोलपत्रदाता बंगलादेश र जेपी कम्पास यूकेको संयुक्त, मोन्ट्रान कर्पोरेसन अमेरिका र स्वीडेनी कम्पनीसँग केन्द्रले आर्थिक प्रस्ताव मागेकामा अरू दुईको प्रस्ताव खोल्दै नखोली स्वीडिसको सेटिङमा कम्पनीलाई ठेक्का सुम्पिएको थियो । कान्तिपुरमा खबर छ ।

एमाले महाधिवेशन परिषद् बैठक आजदेखि

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ ।

दुईदिने उक्त बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी हुने छन् । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा हुने उक्त परिषद् बैठकमा उहाँले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत गरिने छ । प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन् ।

मुलुकको आवश्यकता, जनचाहना अनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले दिशानिर्देश गर्ने विश्वास विभाग प्रमुख गौतमले व्यक्त गरे ।

परिषद् बैठकपछि वैशाख १० गते पार्टी स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान गरेका व्यक्तिलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गर्ने कार्यक्रम छ ।

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशका केही ठाउँमा तथा बेलुका गण्डकी र लुम्बिनीका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अवैध औषधि बेच्ने दुई मेडिकल बन्द

ढोरपाटन – बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधि विभाग काठमाडौँले आज अनुगमन गर्दा अवैध रुपमा औषधि बिक्री–वितरण गर्ने धौलाश्री मेडिकल हल र बुद्ध डेन्टल होम बन्द गरेको हो।

अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने औषधि बेचबिखन गरेको पाइएपछि दुईवटा मेडिकल बन्द गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताए।

सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधि बिक्री–वितरण गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बिक्री–वितरण गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उनको भनाइ छ।

अनुगमनका क्रममा देखिएका कमजोरीका विषयमा तीन दिनभित्र औषधि व्यवस्था विभागमा सम्बन्धित व्यवसायीलाई कारणसहित उपस्थित हुन लिखित रुपमा अनुरोध गरिएको उपाध्यायले बताए।

अनुगमनका क्रममा अस्पताल रोडको बुद्ध डेन्टल होम पनि बन्द गरिएको छ। डेन्टल होम सञ्चालनका लागि आवश्यक पर्ने कागजपत्र फेला नपरेको र सञ्चालकसमेत फेला नपरेकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएर डेन्टल होम बन्द गरिएको हो।

काठमाडौँ महानगरमा कार्यान्वयनमा आयो निःशुल्क उपचार सेवा

काठमाडौँ । अस्पतालहरूले १० प्रतिशत उपचार लक्षित वर्गलाई निःशुल्क गर्नुपर्ने व्यवस्था काठमाडौँ महानगरपालिकामा कार्यान्वयनमा आएको छ ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डको दफा ७० (घ) मा उल्लेख भएको ‘अस्पतालमा उपचारको लागि आउने विपन्न बिरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार अनिवार्य रूपमा गराउनुपर्नेछ,’ भन्ने व्यवस्था काठमाडौँमा लागू भएसँगै लक्षित वर्गका बिरामीले निःशुल्क उपचार पाउन थालेका हुन् ।

महानगरपालिकाले २ जना बेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीको निःशुल्क उपचार गरेको छ । उनीहरूलाई महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरूबाट उपचार सेवा दिइएको बताइएको छ ।

उनीहरूमध्ये १५ जनाको मिर्गौला डायलायसिस भइरहेको छ । उपचार सेवा लिँदालिँदै २ जना बिरामीको मृत्यु भएको छ । १२ जना डिस्चार्ज भएका छन् । १ जनालाई अर्को अस्पतालमा रेफर गरिएको छ । ३ जना अहिले पनि उपचाररत छन् ।

८ जनालाई फेमिली मेडिसिन सेवा दिइएको महानगरले जनाएको छ । ३ जनाले दम, क्षयरोग जस्ता छाती सम्बन्धी (पल्मोलोजी)ं २ जनाले सर्जरी (शल्यक्रिया), २ जनाले आकस्मिक सेवा, १ जनाले स्त्री तथा प्रसूति रोग सेवा, १ जनाले पेट सम्बन्धी र १ जनाले आँखाको उपचार सेवा लिएका छन् । सर्जरी गर्ने बिरामीमध्ये एक जनाको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया र १ जनाको हर्नियाको अपरेसन भएको छ ।

उपचारका लागि लागेको प्रतिव्यक्ति खर्च हेर्दा सबैभन्दा कम खर्च आँखाको उपचारका लागि २ हजार ५ सय रुपैयाँ भएको देखिन्छ । धेरै खर्च लागेको उपचार २ लाख ७४ हजार रुपैयाँ बराबरको छ । यो खर्च अस्पतालहरूले व्यवहारेका छन् ।

बिरामीहरूमध्ये ६ जनाले पिपल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट, ३ जनाले काठमाडौं मोडेल अस्पतालबाट, २ जनाले काठमाडौँ मेडिकल कलेजबाट उपचार लिएका छन् । यस्तै ब्लु क्रस अस्पताल, मेट्रो अस्पताल, कालीमाटी चेस्ट अस्पताल, मनमोहन टिचिङ अस्पताल, नेपाल आँखा अस्पताल, स्तूपा सामुदायिक अस्पताल र क्षेत्रपाटी सामुदायिक अस्पतालबाट १/१ जना बिरामीले सेवा लिएका छन् ।

काठमाडौँ-तराई-मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

काठमाडौँ । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौँ–तराई–मधेश द्रूतमार्ग सहित चारवटै उत्तर-दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हाँसिल भइरहेको बताएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यले उठाएको प्रश्नको जवाफमा उनले देशको कठिन भूगोल र दुर्गमस्थानलाई सडक सञ्जाल जोड्ने सरकारको लक्ष्यलाई सेनाले सहयोग पु-याइराखेको बताए ।  मन्त्री उप्रेतीले भन्नुभयो, “सेनाको जनशक्ति तथा उपकरणको उपलब्धताको तुलनामा न्यून बजेट विनियोजन हुँदा क्षमताको पूर्णसदुपयोग हुन सकेको छैन । मुलुकको आर्थिक समृद्धि र रणनीतिक महत्वसँग जोडिएका सडक छिटो सम्पन्न गर्न मन्त्रालयले हरसम्भव समन्वय गरिरहेको छ ।”

आयोजना निर्माणकार्य समयमा पुरा गरी सर्वसाधारणले छिटो लाभ प्राप्त गर्न सकुन भन्नेमा मन्त्रालय सजग रहेको बताउँदै उनले  खोकना क्षेत्रको जग्गा अधिग्रहण, पुरक वातावरणीय अध्ययन, विष्फोटक पदार्थ र अन्य निर्माण सामग्री व्यवस्थापन चूनौतिकाबीच निर्माणकार्य दू्रतरुपमा अघि बढिरहेको जनाए ।

प्रधानसेनापति प्रभुराम शर्माले सेनाको व्यवस्थापनमा निर्माणाधिन आयोजना कावुबाहेक निर्धारित समय र तोकिएको बजेटको सीमाभित्र पुरा गर्ने दृढता ब्यक्त गरे ।

उहाँले भन्नुभयो, “केही विधि र प्रक्रियाकोकारण बाहेक पूर्वनिर्धारित लक्ष्यअनुरुप नै प्रगति हासिल भाएकोछ, काबुबाहिरको परिस्थितिबाहेक आयोजना समयमै पुरा हुन्छ, प्रेरणा दिने र आत्मवल बढाउने काम गरौँ, शंका नगरौँ ।”

पुल र सुरुङ निर्माणलाई गुणस्तरीय तुल्याउन सेना अरोरात्र खटिएको बताउँदै प्रधानसेनापति शर्माले हालसम्म विनियोजित बजेटअनुरुप काम गर्न सफल भएकाले तोकिएको समयसीमा भित्र पुरा हुनेमा विश्वस्त छौँ भने । 

करिव ७१ किमी दुरीको काठमाडौँ–तराई–मधेश दू्रतमार्ग(फाष्ट ट्रयाक)का हालसम्म ३३ प्रतिशत भौतिक र वितीय प्रगति हासिल भएको सो अवसरमा जानकारी दिइयो ।

निर्माणलाई १३  समूहमा विभिजन गरी आयोजना अघि बढाइएकामा प्रस्थान विन्दुक्षेत्र खोकनाबाहेक अरु क्षेत्रको काम भकाभक अघि बढिरहेको जानकारी दिइयो । त्यस मार्गमा बनाइनुपर्ने छ वटा सुरुङमध्ये तीन वटाको निर्माण समग्रमा ७६ प्रतिशत प्रगति हाँसिल भएको बताइयो । 

आयोजनाका लागि हालसम्म ३० हजार ५९१ रुख कटान गरिएकामा एक रुख बराबर २५ कादरले पाँच लाख विरुवा रोपेर हुर्काउने कामसमेत भइरहेको सेनाको भनाइ छ । केही रुख कटान, केही जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतका समस्या भने सुल्झाउन बाँकी नै रहेको जानकारी दिइयो । 

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले राजनीतिक, धार्मिक र सांस्कृतिलगायतका विभिन्न विषयबस्तुसँग गाँसिएको रणनीतिक महत्वको आयोजनालाई तीव्रगतिमा अघि बढाउन समयमै प्रयाप्त बजेटको अभावमा श्रोत, जनशक्ति र उपकरणको पूर्णरुपमा सदुपयोग  हुन नसकेको प्रतिक्रिया दिए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले मुलुकको सर्वाधिक प्राथमिकता प्राप्त आयोजना समयमै सम्पन्न गर्ने सेनाको प्रयासमा मन्त्रालयका तर्फबाट हरसम्भव सहयोग र समन्वय भइरहेको विश्वास दिलाए ।

सेनाको व्यवस्थापनमा निर्माण भइरहेका रणनीतिक महत्वका चार वटा उत्तर–दक्षिण सडकको समग्र प्रगति भने ८८ प्रतिशत रहेको पनि सो अवसरमा जानकारी दिइयो ।

भौतिकपूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मुलुकको रणनीति महत्वको द्रुत मार्गलगायतका उत्तर–दक्षिण सडक कोरिडोर मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

यसअघि बैठकमा सेनाको तर्फबाट दु्रतमार्ग र रणनीतिक महत्वको उत्तर–दक्षिणका चार वटा सडकको हालसम्मको कार्यप्रगति, कठिनाई र चूनौतिबारे समितिलाई जानकारी दिइयो ।

नेपाली सेनाका सहायकरथी विकास पोखरेलले दु्रतमार्गका लागि  अधिग्रहण गर्नुपर्ने १५ हजार ४१६ रोपनी जग्गामध्ये ३९२ बाँकी नै रहेको तथा प्रस्थान विन्दुमा देखिएको समस्या सुल्झाउन विभिन्न ६ विकल्पमा अध्ययन भइरहेको जानकारी दिए ।

सेनाले विभिन्न कानुनी, नीतिगत, प्रक्रियागत कार्य र भौगोलिक चूनौतिकाबीचमा पनि आफनो नेतृत्वमा अघि बढिरहेका आयोजनालाई समयमै पुरा गर्न दिलो ज्यान र सम्भव भएसम्मको ज्ञान प्रयोग गरी पारदर्शी ढङ्गबाट लक्ष्य बमोजिम काम भइरहेको जनाएको छ । करिव रु दुई खर्ब ११ अर्ब ९४ करोडको लागतमा अघि बढिरहेको द्रुतमार्गमा हालसम्म रु ५७ अर्ब खर्च भइसकेको जानकारी दिइयो ।

यसअघि बैठकमा सदस्यले आयोजनासम्बन्धी आएका विभिन्न टिक्का टिप्पणी, प्रगति र सुल्झाउन पर्ने अड्चनबारे जिज्ञासा राखे । बैठकमा सभापति रामहरि खतिवडाले मुलुकको आर्थिक विकास र समृद्धिसँग प्रत्यक्ष सरोकार जोडिएका कोरिडोर र द्रूतमार्ग समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजनका लागि समितिले सरकारलाई निर्देश गरेको  बताए। यसअघि समितिले सेनासँग गत पुसमा ती आयोजनाकाबारेमा जानकारी लिएको थियो । विसं २०७४ जेठमा शिलान्यास भई २०७६ असोजबाट कार्य प्रभारम्भ भएको द्रुत मार्ग आगामी २०८३ चैतसम्ममा निर्माण पुरा गर्ने गरी सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ ।

सुर्खेतमा एन्फा महिला लिग छनोट

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ हुँदैछ ।

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा वीरेन्द्रनगरस्थित रङ्गशालामा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडी र अफिसियल गरी एक सय ५० भन्दा बढीको सहभागिता हुने सुर्खेत जिल्ला फुटबल सङ्घका अध्यक्ष रवीन्द्र चन्दले जानकारी दिनुभयो । प्रतियोगिता ‘राउण्ड रविन’ ढाँचामा सञ्चालन हुनेछ ।

शीर्ष तीन टोली एन्फा महिला लिग–२०२४ को दोस्रो चरणमा प्रवेश गर्ने र तिनले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लबको महिला टोलीसँग प्रतिस्पर्धा गर्ने उनले बताए। अध्यक्ष चन्दका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु २० लाख र राष्ट्रिय खेलकुद विकास परिषद्बाट रु २५ लाख विनियोजन भएको छ ।

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताए ।

“आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ”, बस्नेतले भने, “स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।”

भित्र्याउने बेलाको गहुँ खेतमै जल्यो

टीकापुर– कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ । जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो ।

आगलागीबाट जोशीपुर–४ खर्चुवाका किसान परशुराम चौधरीको काटेर थुपारेको र काट्न बाँकी रहेको गहुँ जलेको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ । तेह्र कठ्ठा जमिनमा लगाएको बाली नष्ट भएपछि चौधरीको परिवार पीडामा छ ।
स्थानीयका अनुसार बिजुलीको तार गहुँखेतमा लत्रिएका कारण आगलागी भएको हो । आगो स्थानीय बासिन्दा, प्रहरी र टीकापुरको दमकलको सहायतामा निभाइएको थियो ।

यसैगरी, भजनी नगरपालिका वडा नं ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको छ ।

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

काठमाडौ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीले भेटेका छन् ।

वासिङटनडिसीमा बोलीसँग भएको भेटमा मन्त्री पुनले नेपालले चुनौतीहरुबीच आर्थिक स्थिरतालाई दृढतापूर्वक कायम राखेको बताए । गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक भएको उनको भनाइ थियो । ऊर्जा र पर्यटन क्षेत्रले अर्थतन्त्रमा राम्रो योगदान गरेको भन्दै उनले वैदेशिक मुद्रा सञ्चितीको अवस्थासमेत धेरै राम्रो हुँदा अर्थतन्त्रको बाह्य क्षेत्र राम्रो रहेको उल्लेख गरे । यद्यपि सोचेजस्तो पुँजीगत खर्च सन्तोषजनक नहुँदा र राजश्व संकलनको लक्ष्य हासिल हुन नसक्दा आन्तरिक पक्ष केही दबाबमा रहेको उनले बताए । गत महिना आफूले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेदेखि पुँजीगत खर्च र राजश्व संकलनमा वृद्धिका लागि प्रयास अघि बढाएको मन्त्री पुनले जनाए ।

उनले सहुलियतपूर्ण ऋण, नीतिगत परामर्श तथा क्षमता अभिवृद्धि लगायतमा नेपाललाई निरन्तर सहयोग गरेकामा आईएमएफ व्यवस्थापन र कार्यकारी बोर्डलाई धन्यवाद दिए । सन् १९७६ यता कोषले लगातार नेपालको अर्थतन्त्र सुधारमा महत्वपूर्ण सहयोग गर्दै आएको भन्दै उनले १९८० को दशकमा नेपालले प्राप्त गरेको संरचनात्मक समायोजन सुविधा र ०७२ को महाभूकम्प तथा कोभिड–१९ महामारीले निम्त्याएको संकटका बेला गरेको सहयोग स्मरणयोग्य रहेको उल्लेख गरे । नेपालले कोषसँग वित्तीय क्षेत्रको नियमन, राजस्व तथा सुशासनका क्षेत्रमा मिलेर काम गर्न चाहेको उनको भनाइ छ । राष्ट्र बैंक ऐन संशोधनमा कोषका सुझावलाई ध्यान दिइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए । बो–लीसँग मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा उच्चस्तरको प्रतिनिधित्व र लगानीकर्ता आउने वातावरण निर्माणका लागि समर्थनको माग गरे । नेपालमा लगानीको राम्रो वातावरण रहेको भन्दै लगानीकर्तामा विश्वास जगाउन आईएमएफको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

भेटमा बो–लीले नेपाल राष्ट्र बैंकको ऐन संशोधनका विषयमा मन्त्री पुनसँग चासो राखेका थिए ।
आईएमएफले नेपाल राष्ट्र ऐन–२०५८ संशोधन गरी गभर्नरको नियुक्ति सरकारले नभई संसदले गर्नुपर्ने अडान राख्दै आएको छ । राष्ट्र बैंकले आफ्नो उद्देश्यअनुसार स्वतन्त्रपूर्वक दिगो आर्थिक विकासका लागि मूल्य तथा शोधनान्तर स्थिरता र समग्र वित्तीय स्थायित्व कायम गर्न गभर्नरसहित सञ्चालक समिति सदस्यको नियुक्ति संसदबाट हुनुपर्ने सर्त आईएमएफको छ । विद्यमान ऐनमा अर्थमन्त्रीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषदले तीनमध्ये एकलाई नियुक्त गर्ने व्यवस्था छ ।

त्यस क्रममा उनले नेपालको वित्तिय स्थायित्व, राजश्व परिचालन र बैंकिङ क्षेत्रको पूर्वाधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न कर्मचारीलाई मन्त्रालयकाे अपिल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक तथा कर्मचारीलाई ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर त्यसरी काम गर्नु कानूनको प्रतिकुल रहेको भन्दै यसबाट पर्ने असरप्रति स्वयं जिम्मेवार हुने स्पष्ट गरेको छ ।

‘मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरू तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरूमा पूर्णकालिन रूपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसरी काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने हुँदा यस सम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानून सम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (र्यान्डम) प्रक्रियाबाट गर्ने भएको छ । स्वचालित विधि हाललाई काठमाडौँ जिल्लाबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याइने छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीलाई दुःख दिने नियतबाट अब केन्द्र निर्धारण नगर्न निर्देशन दिनुभएपछि बोर्डले नयाँ थालनी गर्न लागेको हो । 
यो विधिमा हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याका आधारमा विद्यालय र केन्द्रको दूरी निकालेर विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको छ  । सकभर औसतमा एक सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी केन्द्र बाँडिएको छ । एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकामा पनि नपर्ने गरी व्यवस्था गरिएको जनाइएको छ ।

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ३७ पैसा र बिक्री दर १३३ रुपैया ९७ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४७ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८९ पैसा र बिक्री दर ८६ रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ३५पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६३ पैसा र बिक्री दर ८ रुपैयाँ ६७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४३ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।