तनहुँमा चितुवा नियन्त्रणका लागि पोखरी निर्माण

  Sampatti News

April 16, 2021

चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले १५ र सामुदायिक वनले १५ गरी ३० वटा पोखरी यसै आर्थिक वर्षभित्र सम्पन्न गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले उक्त अभियानकै रुपमा अघि बढाइएको डिभिजन प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । चितुवाले आक्रमण गरेका वन आसपास क्षेत्रमा पानीको स्रोत नहुँदा प्यास मेटाउन भौँतारिँदै मानव बस्ती छिर्ने क्रममा मानवीय क्षति हुने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको उहाँले बताउनुभयो ।
मानव बस्तीमा पुगेको चितुवाले पानी खाएर अघाएपछि उसको नजीकमा देखापरेका मानव तथा पशुपालनप्रति आक्रमण गर्ने गरेको काफ्लेको भनाइ छ । मांसाहारीजन्य वन्यजन्तुका लागि खानेपानीको पोखरी र आहार प्रजातिका लागि कलिलो घाँस (घाँसे मैदान) व्यवस्था गर्ने गरी मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न अभियानका रुपमा थालिएको छ । “वनजङ्गल झाडीले ढाकिँदै गएकाले मांसाहारी प्रजातिको वन्यजन्तुका लागि वासस्थानको व्यवस्थापन गर्दै आवश्यक पर्ने पानीका पोखरी र कलिलो घाँसलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो ।
जिल्लाको बन्दीपुर, आँबुखैरेनी, भानु, व्यास र शुक्लागण्डकी नगरपालिकामा रहेका वनजङ्गल आसपास पानीको पोखरी निर्माण गर्न लागिएको हो । डिभिजन वन कार्यालयबाट रु ५० हजारदेखि रु एक लाखसम्मको १५ वटा पोखरी निर्माण गर्ने योजना रहेको छ । सो वनमा आहार प्रजातिका वन्यजन्तुभन्दा मांसाहारीजन्यको सङ्ख्या बढिरहेको क्यामेरा ट्यापिङबाट देखिएको बताइएको छ ।
यस क्षेत्रमा चरीबाघ, चितुवा, स्याल बढिरहेको छ भने मृग, बँदेल नगण्य मात्रामा देखिएको छ । कुनै वन्यजन्तुको सङ्ख्या यकिन नभए पनि त्यसको अनुसन्धान डिभिजन वन कार्यालय तनहुँका निवर्तमान डिभिजन प्रमुख केदार बरालले गरिरहनुभएको छ । चितुवा प्रभावित क्षेत्रका बासिन्दालाई घरघरमा उज्याले बनाएर राख्न, घर वरपर झाडी पन्छाउन र पशुपालन गोठ सुधार गरी मजबुत बनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाका सबैभन्दा बढी भानु नगरपालिका क्षेत्रमा चितुवाले आतङ्क बनाएको छ । उक्त क्षेत्रका वन क्षेत्रमा पानीको पोखरी निर्माणका लागि पालिका तहबाट नै निर्णय गरिएको भानु नगरपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिनुभयो । सो पालिकाको वडा नं १, २, ३, ४, १२ र १३ मा चितुवा तथा भालुले धेरै धनजनको क्षति बनाएको थियो ।
खानेपानीबाट एक हजार पाँच सय घरधुरी लाभान्वित
व्यास नगरपालिका–१० स्थित चिसापानी देवीडाँडा बृहत लिफ्टिङ खानेपानी आयोजनाको निर्माण शुरु भएको छ । त्यस क्षेत्रका बासिन्दाले खानेपानीको चर्को समस्या झेल्दै आएको हुँदा त्यसलाई दृष्टिगत गर्दै सङ्घीय सरकारको रु तीन करोड विनियोजन गरेपछि निर्माण कार्य अघि बढाइएको हो ।
व्यास–९, १० र ११ को सिमानामा पर्ने चिसापानीबाट पानी ल्याएर लिफ्टिङ गर्न लागिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । लिफ्टिङ गरिएको पानी सङ्कलन गर्नका लागि देवीडाँडामा पाँच लाख लिटर क्षमताको भण्डारण ट्याङ्की निर्माण कार्य थालिएको उहाँले बताउनुभयो । चिसापानीबाट करीब एक हजार २०० मिटर दूरीबाट पाइपमा ल्याइएको पानीलाई देवीडाँडासम्म लैजानका लागि करीब २६५ मिटर उचाइमा लिफ्ट गरिने उहाँले बताउनुभयो ।
देवीडाँडामा भण्डारण ट्याङ्की निर्माण गरेपछि बस्तीअनुसारको आठवटा शाखा ट्याङ्की निर्माण गरेर पानी वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । सो आयोजना सम्पन्नपश्चात् त्यस वडाका अँधेरीभञ्ज्याङ, दुम्सीकोट, दुम्सीचौर, बरचौर, शीतल गुफा, नयाँ बस्तीलगायतका करीब एक हजार ५०० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछ ।
सो आयोजनाको निर्माणका लागि ग्यालेक्सी कन्सट्रक्सन प्रालि चितवनले जिम्मा पाएको छ । दुई वर्षीय योजना रहेकाले विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजना सम्पन्नपश्चात् त्यस क्षेत्रका बासिन्दाले प्रशस्त मात्रामा पानीको प्रयोग गर्न पाउने गरी आयोजनाको कार्य अघि बढाइएको छ । दुम्सीचौर टोल विकास संस्थाका अध्यक्ष चेतबहादुर दरैले पानीको साह्रै दुःख भोग्नुपरेको गुनासो पोख्नुभयो । आयोजना सम्पन्नपछि पानीको समस्या समाधान हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति:April 16, 2021