हेटौडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  Sampatti News

April 23, 2021

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले हेटौँडा निर्वाचन अधिकृतको कार्यालय खोल्ने निर्णय गरेको छ ।

आयोगले वागमती प्रदेशको मुकाम हेटौँडा स्थित प्रदेश निर्वाचन कार्यलयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन अधिकृतको लागि न्याय परिषद्को परामर्शमा दुईजना जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउनेसमेत निर्णय गरेको आयोगले जनाएको छ ।

आयोगले बिहीबार वागमती प्रदेशको अन्य समूहतर्फ राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको एक पदको लागि आगामी जेठ ६ गते राष्ट्रियसभा सदस्य उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

सो निर्वाचनको तयारीका सन्दर्भमा आयोगको आज बसेको बैठकबाट निर्वाचन पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चात् गर्नुपर्ने कार्य समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरेको आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै उपनिर्वाचनका लागि मतदानको समय बिहान ०९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्धारण गरिएको छ ।

प्रकाशित मिति:April 23, 2021