कोभिड–१९ लाई सामना गर्ने बजेट ल्याउछौंःअर्थमन्त्री पौडेल

  Sampatti News

May 14, 2021

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताएका हुन्।

उनले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड-१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताए ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् ।

पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए ।
२०७८ वैशाख ३१ गते प्रकाशित

प्रकाशित मिति:May 14, 2021