प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेवले गरे सर्वोच्चमा रिट दर्ता

  Sampatti News

August 16, 2021

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति विरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट दर्ता गरेका छन् । आफुले राजीनामा नदिँदै नयाँ नियुक्ति गर्न सिद्धान्त विपरीत रहेको भन्दै शाक्यले रिट दर्ता गरेका हुन् ।

आफू उक्त पदमा बहाल रहेकै अवस्थामा घिसिङलाई गरिएको नियुक्ति कानुन र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत रहेको उनको भनाई छ । रिटमा लेखिएको छ ‘प्राधिकरणको कार्यकारी निर्देशक पदबाट मैले राजीनामा दिएको छैन भन्ने कुरा निर्विवाद छ, मलाई विपक्षी नेपाल सरकारले उक्त पदबाट सुनुवाइको मौका प्रदान गरी कुनै कानुनी आधारमा हटाउने निर्णय गरेको छैन भन्ने कुरा पनि निर्विवाद छ। यस्तो अवस्थामा मेरो यथावत रहेको नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई नियुक्ति गर्ने कार्य कानुन र औचित्यको समेत प्रतिकूल छ।’

गत साउन २५ गते बसेको मन्त्रपरिषद बैठकले शाक्यलाई ऊर्जा आयोगको विज्ञका रुपमा नियुक्ति गरेको थियो। ‘तर मैले उक्त पद स्वीकार नगर्दै आफूलाई विस्थापित गर्न कुलमानलाई नियुक्ति गरियो’, रिटमा भनिएको छ, मन्त्रिपरिषदका निर्णयले मलाई संविधानले दिएको पेसा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरुद्ध काममा लगाउन नपाइने हकलगायतका हक हनन गरेको छ।’

प्रकाशित मिति:August 16, 2021