एमबिबिएस छात्रवृत्ति तथा विदेशी म्याचिङ सिटमा पूर्व मनोनयन सूची प्रकाशित

  Sampatti News

September 13, 2021

काठमाडौँ । स्नातक तह(एमबिबिएस)मा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित भएको छ ।

चिकित्सा शिक्षा आयोगले सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरूमा यो शैक्षिक सत्रको लागि सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम तथा विद्यार्थीको छनोटका आधारमा सूची प्रकाशन गरेको हो ।

आयोगले सोमबार सूची प्रकाशित गर्दै पूर्व मनोनयनको सूचीमा सूचीकृत भएका उम्मेदवारले ३१ गते ५ बजे भित्र आफू पूर्व मनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी पठाउन आग्रह गरेको छ ।

विद्यार्थीले अनिवार्य आयोगमा आफ्नो प्रोफाइल अनलाइन मार्फत दिनुपर्ने र कुनै एक सिटमा मात्र पूर्व मनोनयन भएको उम्मेदवारले तोकिएको समयावधिभित्र कुनै जानकारी नगराएमा पूर्व मनोनयन स्वतः स्वीकार गरेको मानिने सूचनामा उल्लेख छ । एक भन्दा बढी शैक्षिक कार्यक्रममा पूर्व मनोनयन भएको अवस्थामा कुनै एक कार्यक्रममा मात्र सहमति जनाउनुपर्नेछ । अन्यथा कुनै पनि सिटमा मनोनयन गर्न नसकिने समेत जनाइएको छ ।

पूर्व मनोनयनको सूचिमा परेको उम्मेदवारले अध्ययन नगर्ने भनी तोकिएको समय भित्रै विथड्र गरेमा सो समूह बाहेक सशुल्क वा अन्य शैक्षिक कार्यक्रमको अवसर प्राप्त हुने हुँदा आगामी ३१ गते ५ बजे भित्र असहमति जनाउनुपर्नेछ ।

सशुल्क तथा अन्य शैक्षिक कार्यक्रमको पनि उम्मेदवार भएको अवस्थामा म्याचिङमा समावेश हुन सक्नेछ । असहमति नजनाउने र मनोनयन भएको सिटमा भर्ना पनि नगर्ने उम्मेदवारले यसपछि प्राप्त हुने कुनै पनि छात्रवृत्ति (विदेशी समेत) कोटा र सशुल्क समूहमा समेत समावेश हुन नपाउने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:September 13, 2021