संविधानको कार्यान्वयनबाट मात्रै समाजवाद सम्भव छः अध्यक्ष नेपाल

  Sampatti News

September 19, 2021

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज संविद्यान दिवसको शुभकामना व्यक्त गर्दै संविद्यानको पूर्ण कायन्वयनबाट मात्रै समाजवाद सम्भव हुने बताएका छन् । अध्यक्ष नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका हुन् ।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमानदार प्रयास गर्न सबैमा आह्वान गरेका छन्। अध्यक्ष नेपालले सन्देशमा भनेका छन्, संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्ता लगायतमा ठुलो परिवर्तन तथा सुधार भएको तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौँ ।’

पूर्व प्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको स्मरण गरेका छन् । सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मानसहित स्मरण गर्नै पर्ने उल्लेख गरेका छन्। स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जबाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको अध्यक्ष नेपालले सन्देशमा उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति:September 19, 2021