मुम्बई घर भएका दुई जनाबाट ९५ लाख नेपाली रुपैयाँ बरामद

  Sampatti News

September 25, 2021

चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट काठमाडौंको नागढुंगामा प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार स्रोत नखुलेको ९५ लाख बरामद गरिएको हो । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले सो नगद लिएर आउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सागर माली र कृष्ण अढाडे छन् ।

भारतको मुम्बई घर भएका उनीहरु ग १ ख ६६४५ नम्बरको हाइस माइक्रोमा चितवनबाट काठमाडौं आएका थिए । यात्रुबाहक माइक्रोको ८ र ९ नम्बर सिटमा बसेका उनीहरुको झोला चेकजाँच गर्दा सो नगद फेला परेको थियो ।

सो रकम अवैध हुन्डी कारोबारको हुनसक्ने एसएसपी अशोक सिंहले बताए । उनले भने–‘ पैसा ल्याउनेहरूले स्रोत खुलाउन सकेका छैनन्, हामी थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले २६ वर्षीय मालिको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख बरामद गरेको छ ।

प्रकाशित मिति:September 25, 2021