इपिएलमा चितवनको जीत

  Sampatti News

September 26, 2021

चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगरलाई दुई विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले चितवनलाई जीतका लागि १५२ रनको मध्यम लक्ष्य दिएको थियो ।

जवाफमा चितवनले २० ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । चितवनको जीतमा राजेश पुलामीले अविजित ४३ रनको योगदान दिए । भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ तथा इसान पाण्डेले १० रन जोडे ।

त्यस्तै कप्तान सोमपाल कामी नौ, सेकुगे प्रसन्न तीन तथा कमलसिंह ऐरी र हमद शाहजाद एक रनमा पेभेलियन फर्किए ।

बलिङतर्फ विराटनगरका सिकन्दर राजा र करण केसीले दुई-दुई विकेट लिए भने प्रतिश जिसी, रायन पठान र अनिल खरेलले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

उनले ४७ बलमा सात छक्का र दुई चौका प्रहार गरे । यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । विक्रम भुसालले सात, रायन पाठनले चार, चन्द्रपाउल हेमराजले दुई तथा कप्तान करण केसीले एक रन जोडे ।

सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् । बलिङतर्फ चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई-दुई विकेट लिए ।

जीतसँगै चितवनले दुई अङ्क जोडेको छ । विराटनगरले सोमबार काठमाडौँ किंग्स इलेभेनसँग खेल्ने छ भने सोमबार नै चितवनले भैरहवा ग्ल्याडियटर्ससँग खेल्नेछ ।

प्रकाशित मिति:September 26, 2021