अष्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थीमा कोरोना संक्रमण

  Sampatti News

March 8, 2020

२६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीले उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् । अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए ।

अधिकारीका अनुसार उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लाग्दा देखिने लक्षण देखिएको तर उनले मार्च ६ मा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेका थिए । उनको शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गरिएको र उनलाई अलग राख्न ९सेल्फ आइसोलेसन० आग्रह गरिएको भए पनि त्यसलाई उनले पालना नगरेको बताइन्छ ।

उनलाई कोरोनाको संक्रमण भएको शनिबार पुष्टि भएको र लगत्तै उनलाई आइसोलेसनमा राखिएको जानकारीमा उल्लेख छ । तास्मानियाका जनस्वास्थ्य सेवाका प्रमुख डा मार्क भेइचले सेल्फ आइसोलेसनमा राख्न गरिएको सल्लाह बेवास्ता गर्नुलाई ‘अस्विकार्य’ बताएका छन् ।

प्रकाशित मिति:March 8, 2020