चारजना पूर्व प्रधानन्यायाधीशलाई अवहेलना मुद्दामा सफाइ

  Sampatti News

October 1, 2021

काठमाडौँ – चारजना पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा सफाइ दिएको छ।

गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन मुद्दामा सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएका थिए ।

विचाराधीन मुद्दामा सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएको भन्दै उनीहरु बिरुद्ध अवहेलना मुद्दा परेको थियो ।

अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले दायर गरेको छुट्टाछुट्टै निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र सपना प्रधान मल्लको इजलासले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिइको हो।

विघटनविरुद्ध अदालमा मुद्दा विचाराधीन रहेको अवस्थामा पूर्वप्रधानन्यायाधीशहरुले पुस २४ गते संयुक्त रुपमा विघटनलाई सदर नगर्न सर्वोच्च अदालतमा आह्वान गरेका थिए।

उनीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको ठहर गर्दै त्यसलाई बदर गर्न माग गरेका थिए। उनीहरुले त्यस्तो विज्ञप्ति जारी गरेपछि अधिवक्ताहरु भट्टराई र बस्नेतले अवहेलना मुद्दा दायर गरेका हुन्।

जवाफ दिँदै चारै जना पूर्वप्रधानन्यायाधीशहरुले विघटनविरुद्ध धारणा सार्वजनिक गर्दा अवहेलना मुद्दा लगाउनु अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने प्रयास भएको बताएका थिए।

उनीहरुले पूर्वप्रधानन्यायाधीशले सार्वजनिक चासो र महत्वका विषयमा बोल्न नहुने भन्ने मान्यता कहीँकतै स्थापित नभएको जिकिर गरेका थिए।

‘नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता लगायतका मौलिक हकहरुको प्रयोग, प्रचलन र संरक्षणमा अन्य नागरिक झै पूर्वन्यायकर्मीको पनि सरोकार रहने कुरा प्रष्ट छ,’ लिखित जवाफमा भनिएको छ।

प्रकाशित मिति:October 1, 2021