मुस्ताङको स्याउ बजारमा

  Sampatti News

October 2, 2021

चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ ।

दसैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो ।

रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याई छ ।

हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उहाँले स्याउ बारमा पु¥याउनुहुन्छ । लामाले यसवर्ष पनि बगान ठेक्कामा लिनुभएको छ ।

“रु ५० लाखमा खरिद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पु¥याउने लक्ष्य छ”, उहाँले भन्नुभयो । उहाँले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिनुभएको हो ।

‘‘दसैँपछि बजारमा माग घट्छ, कोशेलीकै कारण दसैँका बेला बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ,’’ लामाले भन्नुभयोे, ‘‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पुर्‍याउने गरेको छु ।’’

बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ ।

बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ । दसैँ तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ ।

‘यहाँ मुस्ताङको स्याउ पाइन्छ’ अधिकांश फलफुलका पसलमा यही लेखेर टाँस्ने गरेको स्याउ व्यवसायी पल डिसी बताउनुहुन्छ । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो रु २०० देखि रु २५० सम्ममा बिक्री गर्छन् ।

विसं २०२२ मा कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्याङ्क छ ।

सरकारले सुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । वर्षभरि खान चाना बनाएर सुकाउने चलन छ । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ ।

‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् ।

प्रकाशित मिति:October 2, 2021