कम्युनिष्टको नेतृत्व एकीकृत समाजवादीले गर्छ: उपाध्यक्ष पाण्डे

  Sampatti News

October 9, 2021

कम्युनिष्टको नेतृत्व एकीकृत समाजवादीले गर्छ: उपाध्यक्ष पाण्डे

आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले दसैं तिहारलगायत विभिन्न पर्वका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सामूहिक निर्णय गरिने बताउनुभयो ।

उपाध्यक्ष पाण्डेले कम्युनिष्ट पार्टीमा व्यक्ति पूजाको सुरुआत भएकामा चिन्ता व्यक्त गर्दै एकीकृत समाजवादीमा सबै सदस्यको समान हैसियत हुने र आवश्यकताअनुसार जिम्मेवारी फरक फरक हुने बताउनुभयो ।

उहाँले मुलुकमा निरङ्कुशता विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

सो पार्टीका सचिव जीवनराम श्रेष्ठले एमालेमा एकल नेतृत्व हाबी भएकाले आफूहरुले अन्तरसङ्घर्ष गरी त्यसलाई सच्याउन खोजेको भए पनि नेतृत्व तयार नभएपछि पार्टीमा विद्रोह गरी नयाँ कम्युनिष्ट पार्टी स्थापना गरिएको जानकारी दिनुभयो ।

उहाँले कम्युनिष्ट विचारलाई एकीकृत समाजवादीले मात्र अवलम्बन गरेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले संसद् पटकपटक विघटन भएकाले संसद् विकास कोषबाट वडामा आउने सहयोगमा असर पुगेको बताउँदै यसले जनहितमा कार्य गर्न नसकिएको तथा स्थानीय विकासमा समस्या आएको स्पष्ट पार्नुभयो ।

कम्युनिष्टको नेतृत्व एकीकृत समाजवादीले गर्छ: उपाध्यक्ष पाण्डे

प्रकाशित मिति:October 9, 2021