पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

  Sampatti News

November 10, 2021

काठमाडौं-भ्रष्टाचारको आरोपमा बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई ११ वर्षको जेल सजायको फैसला भएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघात सम्बन्धी मुद्दामा चार वर्ष गरी ७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई जम्मा ११ वर्षको जेल सजाय सुनाइएको हो ।

सिन्हाले तत्कालीन फार्मर्स बैंक (हाल पद्म बैंक)बाट ४ लाख ७० हजार अमेरिकी डलर ऋण लिएका थिए ।

त्यसपछि उनले त्यो रकम नगद, चेक र पे–अर्डरमार्फत दोस्रो खातामा सारेको आरोप छ ।

यसो गर्नु बंगलादेशको भ्रष्टाचार रोकथाम सम्बन्धी कानून अनुसार दण्डनीय मानिन्छ ।

भ्रष्टाचारसम्बन्धी यही प्रकरणमा मुछिएका १० जनामध्ये मोहम्मद शाहजाँ र निरन्जन चन्द्र साहलाई भने अदालतले सफाइ दिएको छ ।

पूर्वप्रधानन्यायाधीश सिन्हासहित अन्यलाई भने अलग–अलग जरिवाना र जेल सजायको फैसला अदालतले गरेको छ ।

भ्रष्टाचारको आरोप लागेपछि सिन्हाले चार वर्ष अघि विदेश भ्रमणको क्रममा प्रधानन्यायाधीश पदबाट राजीनामा दिएका थिए ।

यद्यपि उनले बंगलादेशको ‘अलोकतान्त्रिक’ र ‘निरंकुश’ शासनको विरोध गरेकाले आफूलाई राजीनामा दिन बाध्य पारिएको दाबी गर्दै आएका छन् ।

सिन्हा हाल अमेरिकामा बस्दै आएका छन् । उनको अनुपस्थितिमा अदालतले जेल सजाय सुनाएको हो ।

सिन्हा बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायबाट पहिलोपटक प्रधानन्यायाधीश बनेका थिए । उनी बंगलादेशका २१औं प्रधानन्यायाधीश हुन् ।

प्रकाशित मिति:November 10, 2021