बरामद गरिएका मास्क साझा पसलबाट बेच्ने तयारी

  Sampatti News

March 16, 2020

काठमाडौं । राजधानीको सतुंगलमा कालोेबजारी गर्ने व्यवसायिहरुले लुकाएर राखेका मास्कहरु बरामद गरेपछि साझा औषधि पसलबाट बेच्ने तयारी गरिएको छ । बजारमा कोरोना भाइरसको जोखिम बढेसँगै मास्कको माग बढेको विषयलाई मध्यनजर गर्दै सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको हो ।

बजारमा मास्कमा कालोबजारी हुन थालेपछि ४,५ रुपैयाँमा पाइने मास्कलाई केही व्यवसायिहरुले ५० रुपैयाँसम्म लिन थालेको घटना बाहिरिन थालेका छन् । यसरी कालोबजारी बढेपछि प्रहरीले सर्च अपरेसन नै चलाएर मास्क बरामद गरिरहेको छ ।

यसरी कालोबजारीका क्रममा पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइने र मुद्दाको टुंगो लागिसकेपछि मात्रै जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख भएकाले बरामद गरिएका मास्कहरु बेच्न कानुनी समस्या देखिएको छ ।

तर महान्यायाधिवक्ता अग्नि खरेलले भने प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली लगायतलाई बोलाएर बरामद भएका मास्क तत्काल बजारमा पठाउने उपायबारे छलफल थालेका छन् ।

स्रोतका अनुसार महान्यायाधिवक्ता खरेलले कालोबजारी गरेको अभियोग लागेका व्यापारीलाई अहिलेकै प्रक्रिया अनुसार मुद्दा चलाउने तर बरामद भएको वस्तु तत्काल बजारमा पठाउन लिखित निर्देशन नै दिने तयारी गरेका छन् । यससँगै राजधानीका विभिन्न स्थानमा बरामद गरिएका मास्कहरु साझा औषधि पसलबाट बिक्री गर्ने बाटो खुलेको हो ।

प्रहरीले चैत्र २ गते कपनको मिलन चोकबाट १ लाख ६८ हजार थान मास्कसहित ५ जनालाई पक्राउ गरेको थियो भने विष्णुमति पुल नजिकैको आरडीजी सप्लायर्स कम्पनीको गौदामबाट ८ लाख ४० हजार थान मास्क बरामद गरेको छ । लुकाइएका मास्क खोजी कार्यमा प्रहरी युद्दस्तरमा लागिरहेको बताइएको छ ।

प्रकाशित मिति:March 16, 2020