स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन विकास र समृद्धि

  Sampatti News

November 17, 2021

स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन विकास र समृद्धि

दशौँ राष्ट्रिय कर दिवसका अवसरमा बिर्तामोडमा आज प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय र बिर्तामोड उद्योग वाणिज्य सङ्घका संयुक्त आयोजनामा आयोजित सो र्‍याली मुक्तिचोकबाट सुरु भई बजार परिक्रमा गरेको थियो ।

प्रभातफेरि कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका प्रमुख, विभिन्न सङ्घसंस्था र विद्यार्थीको उपस्थिति रहेको थियो ।

यस वर्षको कर दिवसका मुख्य नारा ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन विकास र समृद्धि’ भन्ने रहेको छ ।

प्रभातफेरीमा सहभागीले ‘हाम्रो करबाट हाम्रै सेवा, राष्ट्रिय निर्माणमा बलियो टेवा, हाम्रो राजस्व हाम्रो धन, समृद्ध नेपाल सुखी जन, कर र करदाताको सही पहिचान, समृद्ध निर्माणमा सबैको योगदान’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

आजदेखि सुरु भएको कर दिवस कार्यक्रममा करदातालाई सम्मान, २ गतेदेखि ६ गतेसम्म जिल्लाका विभिन्न उद्योग वाणिज्य सङ्घको समन्वय र सहकार्यमा करदाता शिक्षा र सचेतनामूलक कार्यक्रम र ७ गते समापन गरिने जनाइएको छ ।

कार्यालयअन्तर्गत व्यावसायिक र व्यक्तिगत गरी एक लाख २०४ करदाता छन् ।

कार्यालयको चालु आर्थिक वर्ष २०७८-७९ मा रु तीन अर्ब ४० करोड ७४ लाख राजस्व असुलीको लक्ष्य छ ।

कर सप्ताह सुरु, उत्कृष्ट करदाता सम्मानित

दमौली– आन्तरिक राजस्व कार्यालय दमौलीमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ ।

दशौँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट करदाताका रूपमा डुम्रेस्थित सबैको लघुवित्त संस्थालाई सम्मान गरिएको हो ।

गत आर्थिक वर्षमा रु ३९ करोड नौ लाख कारोबार गरेको वित्तीय संस्थाको करयोग्य आयकर रु तीन करोड ९१ लाख रहेको थियो ।

उक्त संस्थाले त्यसअवधिमा रु एक करोड १७ लाख आयकर तिरेको थियो ।

विभिन्न मापदण्डका आधारमा उक्त संस्थालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रमुख कर अधिकृत ढकालले उक्त संस्थाका प्रतिनिधि केशव पौडेललाई दोसल्ला र प्रशंसापत्रले सम्मान गर्नुभयो ।

सोही अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी नासु विनिता रानाभाटलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा प्रजिअ अर्यालले करको दर भन्दा करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले व्यवसायी र कर प्रशासनबीच नङ र मासुको सम्बन्ध रहेकाले व्यवसायीलाई निर्भिक रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व रहेको बताउनुभयो ।

चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कृष्ण आचार्यले व्यवसायीलाई करको दायरामा ल्याउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कर प्रशासन सुधारका लागि विभिन्न कार्ययोजना

कार्यालयले कर सप्ताहको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रमुख कर अधिकृत ढकालले कर प्रशासन सुधारका लागि विभिन्न कार्ययोजना बनाइएको बताउँदै करको परिपालना गर्नेको करको लागत घटाउने नीति लिइएको जानकारी दिनुभयो ।

आन्तरिक राजश्व कार्यालय गत आर्थिक वर्षमा रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजश्व सङ्कलन गरेको थियो ।

कार्यालयले उक्त आर्थिक वर्षमा रु आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ ।

यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ ।

मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।

उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो ।

स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन विकास र समृद्धि

प्रकाशित मिति:November 17, 2021