सञ्चयकोषद्वारा जग्गा खरिद सापटी सुरु: यस्तो छ प्रकृया

  Sampatti News

November 21, 2021

सञ्चयकोषद्वारा जग्गा खरिद सापटी सुरु: यस्तो छ प्रकृया

काठमाडौँ-कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा सुरु गरेको छ ।

कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् ।

कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित् गर्न जग्गा खरिद सापटी कर्जा सुरु गरेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

जग्गा खरिद सापटीको अधिकतम सीमा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरु तलबमा र सेवा अवधिको आधारमा १० वर्षको तलब वा अधिकतम ५० पचास लाख पाउनेछन् ।

जग्गा खरिदबिक्री गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी सापटी रकम प्रदान गरिने छ ।

कर्जा चुक्ता अवधि सञ्चयकर्ताको बाँकी नोकरी अवधिमा नबढ्ने गरी अधिकतम दश वर्षको हुनेछ ।

दुई पटक मात्र जग्गा खरिद सापटी लिन सकिने

कोषले यसअघि घर सापटी, घर मर्मत, सापटी र सरल चक्रकर्जा लिएका सञ्चयकर्ताको हकमा सापटी चुक्ता गरेपछि र शैक्षिक सापटी लिएका सञ्चयकर्ताको हकमा कर्जा नियमित गरेको अवस्थामा मात्र सापटी लिन सकिनेछ ।

सञ्चयकर्ताले पहिले लिएको जग्गा खरिद सापटी चुक्ता गरेमा पुनः दुई पटक मात्र जग्गा खरिद सापटी लिन सक्नेछन् ।

जग्गा खरिद सापटीको धितोको लागि न्यूनतम चार मिटरको बाटो भएको काठमाडौँ उपत्यकाभित्र कम्तीमा तीन आना जग्गा हुनुपर्ने छ । ।

उपत्यका बाहिर कम्तीमा आठ धुर वा पाँच आना क्षेत्रफल र तोकिएको मापदण्ड पूरा भएको जग्गा हुनुपर्ने छ ।

जग्गा खरिद सापटी लगनखेलस्थित कोषको कार्यलयबाट

सञ्चयकर्ताले जग्गा खरिद सापटी लिन काठमाडौँ उपत्यकाको हकमा लगनखेलस्थित कोषको कार्यलयबाट तथा उपत्यका बाहिरको हकमा कोषका शाखा कार्यालयमा आवेदन गर्नुपर्ने छ ।

कोषले यसअघि सञ्चयकर्ताको सामाजिक आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी र सरलचक्र कर्जा जस्ता सापटी प्रदान गर्दै आइरहेको छ, भने औषधोपचार सुविधा, किरियाखर्च र शिशु तथा प्रसूति स्याहार जस्ता सामाजिक सुरक्षासुविधा समेत प्रदान गर्दैआइरहेको छ ।

अर्थ मन्त्रालयको वार्षिक बजेटमा राष्ट्र सेवक कर्मचारीलाई कर्मचारी सञ्चयकोषमार्फत सहुलियत कर्जा उपलब्ध गराउने उद्देश्य छ ।

कोषको गत कात्तिक मसान्तसम्ममा सञ्चयकर्ताको आवास निर्माणका लागि २०३११ जनालाई रु ३७ अर्ब ७८ करोड ।

शैक्षिक सापटी तर्फ ६६१ जनालाई रु ५९ करोड, घर मर्मत सापटी तर्फ १७७९ जनालाई रु एक अर्ब ८७ करोड ।

सरलचक्र कर्जा तर्फ ३३८५ जनालाई रु ४ अर्ब ९२ करोड गरी धितोमा आधारित कर्जा रु ४५ अर्ब १७ करोड लगानी छ ।

कोभिड– १९ को कारण लकडाउनको अवधिमा कर्जा प्रवाहमा केही कमी आएको कोषले बताएको छ ।

देशको आर्थिक गतिविधिमा सहज वातावरण निर्माण भएसँगै धितो आधारित कर्जा २०७८ श्रावण देखियता चार महिनाको अवधिमा ९१३ जना सञ्चयकर्तालाई रु तीन अर्ब २७ करोड कर्जा प्रवाह भएको छ ।

कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई कोभिड– १९ को अवधिमा आव २०७७/७८ मा १५४४२ जना सञ्चयकर्ताले रु ८ करोड ४३ लाख ५७ हजार ब्याजमा छुट सुविधा पाएका छन् ।

गतवर्ष आव २०७६-७७ मा कोभिड– १९ को अवधिमा १५९०३ जना सञ्चयकर्ताले रु ८ करोड ४३ लाख १६ हजार ब्याजमा छुट सुविधा पाएका थिए ।

सञ्चयकोषद्वारा जग्गा खरिद सापटी सुरु: यस्तो छ प्रकृया

प्रकाशित मिति:November 21, 2021