कालोबजारी हटाउन सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने

  Sampatti News

March 17, 2020

सरकारले उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ।

कोरोना भाइरस कोभिड १९ को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो।

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको बताएका छन् ।

मन्त्री भट्टले चाँडै सुपथ मूल्य पसल र घुम्ती पसल सञ्चालन गर्ने विषयमा मन्त्रालय र कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पनि छलफल भएको बताए। मन्त्री भट्टले बजार अनुगमनका लागि गृहमन्त्रालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लामा अनुगमन गरी कारवाही गर्ने र अभाव हुने अवस्था सिर्जना हुन नदिने बताए।

संकट आउँछ थुपारौँ भन्‍ने मनोवृतिका कारण केही समस्या देखिएको उनको भनाई छ। भट्टले आवश्यकता भन्दा बढी सिलिण्डर भरेर नराख्न पनि आग्रह गरेका छन्। असुरक्षित हुने भएकाले भरेका सिलिण्डर घरमा भण्डारण नगर्न नेपाल आयल निगमले पनि चाँडै सूचना प्रकाशन गरी आग्रह गर्ने मन्त्री भट्टले बताएका छन्।

प्रकाशित मिति:March 17, 2020