६ निर्माण कम्पनी कालोसूचीमा

  Sampatti News

December 9, 2021

६ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं-सरकारले छ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी छ निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

कालोसूचीमा परेको कम्पनीमा काठमाडौँका निलगिरि निर्माण सेवा, एलिट कन्स्ट्रक्सन कम्पनी,च्याङ्ग्रासी निर्माण सेवा, एसएसएम कन्स्ट्रक्सन प्रालि र बाँकेका त्रिदेव निर्माण सेवा तथा एसएनसी निर्माण सेवा प्रालि रहेका छन् ।

सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सडक डिभिजन कार्यालय लहानको सिफारिसमा निलगिरि निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै सर्लाहीको चन्द्रनगर गाउँपालिकाको सिफारिसमा एलिट कन्स्ट्रक्सन कम्पनी तथा तारकेश्वर नगरपालिका काठमाडौँको सिफारिसमा च्याङ्ग्रासी निर्माण सेवालाई दुई-दुई वर्षका लागि कालोसूचीमा राखिएकोे छ ।

यसैगरी एसएसएम कन्स्ट्रक्सन प्रालि, त्रिदेव निर्माण सेवा र एसएनसी निर्माण सेवा प्रालिलाई एक-एक वर्षका लागि कालोसूचीमा राखिएको सो कार्यालयले जनाएको छ ।

ती कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका सबैभन्दा धेरै सडक आयोजना जिम्मा लिएका कम्पनी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले सार्वजनिक खरिद ऐनबमोजिम ठेक्का ‘बिड’ गर्ने तर सम्झौता गर्न नआएका, मिलेमतो गरेर काम गरेका र बीचैमा छाड्ने कम्पनीलाई कालोसूचीमा राख्छ ।

सम्बन्धित कार्यालयबाट आएको सिफारिसका आधारमा सार्वजनिक खरिद कार्यालयले कालोसूचीबारे निर्णय लिन्छ ।

पटक-पटक पत्राचार तथा पत्रपत्रिकामा सूचना निकाल्दा पनि अटेरी गरेपछि यथेष्ट प्रमाण जुटाएर कम्पनीलाई कालोसूचीमा राख्ने गरिन्छ ।

६ निर्माण कम्पनी कालोसूचीमा

प्रकाशित मिति:December 9, 2021