प्रभू र कृषि विकास बैंकको सहयोगमा महानगपालिकामा ट्राफिक आइल्याण्ड बन्दै

  Sampatti News

March 19, 2020

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका बढी भिडभाड हुने स्थानहरु ट्राफिक आइल्याण्ड बनाउन कृषि र प्रभू बैंकले सहयोग गर्ने भएका छन् ।


प्रभु बैङ्क र कृषि बिकास बैङ्कसँग काठमाडौँ महानगरपालिकाले बुधबार छुट्टाछुट्टै सम्झौता गरी काठमाडौंका रत्नपार्क, जमल, तीनधारा पाठशाला गरी ३ स्थानमा ट्राफिक आइल्याण्ड बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

काठमाडौँ महानगपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको रोहवरमा यी दुबै सम्झौतामा बुधबार राष्ट्रिय सभा गृहमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिका यस्ता विभिन्न स्थानमा ट्राफिक आइल्याण्ड आफैँ बनाउन सक्षम रहे पनि नीजि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि यस्तो सम्झौता गरेको बताएका छन् ।


मेयर शाक्यले महानगरपालिका सँग पैसा नभएर सहकार्य गरेको नभई नीजि क्षेत्रलाई पनि सामाजिक कार्यमा प्रोत्साहन गर्न सम्झौता गरेको बताएका छन् । उनले यी क्षेत्रमा प्रचार—प्रशारका सामाग्रीहरु नराख्न भन्दै संस्कृति र सस्कार झल्कने किसीमको रणनीति रहनुपर्ने बताएका छन् । उनले भने “तपाईँहरुले आफ्नो प्रचार–प्रशारलाई बढी महत्व दिने अनि आइल्याण्डलाई बेवास्था गर्ने गरी काम गर्नुभयो भने हामीलाई मान्य हुँदैन । तपाईँहरुले बनाएका आइल्याण्डमा मौसम अनुसारका फुल फुलाउने, सहरको सौन्दर्यीकरण बढाउने जस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।”


उनले बैंकहरुले राम्रो काम गरेको खण्डमा फेरी अरु कार्यमा पनि सहकार्य बताएका छन् ।


त्यसैगरी प्रभु बैँङकले तीन स्थानमा निर्माण गर्ने आइल्याण्डको सम्झौतामा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।


सम्झौतापत्रमा हस्ताक्षर गर्दै शेरचनले सामाजिक उत्तर दायित्व अन्तरगत नै महानगरसँग ट्राफिक आइल्याण्ड निर्माणका लागि सम्झौता गरेको बताएका छन् ।


सीइओ शेरचनले काठमाडौँँका खालि ठाउँ सुन्दर बनाउने बैंकको धारणा रहेको बताएका छन् ।
शेरचनले महानगरपालिकासँग धेरै चरणको छलफलपछि यो सम्झौता भएको बताउँदै सार्वजनिक स्थानमा ट्राफिक आइल्याण्ड हुने भएकाले यसलाई जोगाउनु ठूलो चुनौति हुने बताए।
चुनौतीका भएपनि सबैको सहयोग भयो भने १२ महिना सुन्दर राख्न उनले दाबी गरेका छन् ।
शेरचनका अनुसार “तीन ओटा ट्राफिक आइल्याण्ड निर्माणका लागि करीव ४० लाख जति खर्च हुनेछ । अबको तीन महिना भित्रमा ट्राफिक आइल्याण्ड बन्नेछन् ।


सम्झौताबमोजिम बैङ्कले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।
सम्झौता ५ वर्षसम्मको लागि भएको छ । सम्झौताबमोजिम आइल्याण्डको व्यवस्थापनको सबै खर्च बैङ्क आफैंले व्यहोर्नेछ ।

महानगपालिकाले माइतीघर मण्डला अघिल्तिरको बगैँचालाई अहिलेको डिजाइन नविग्रिने गरी सौन्दर्यीकरण र हरियाली प्रर्वद्धन गर्ने गरी कृषि बिकास बैङ्कसँग सम्झौता गरेको छ ।


माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने सम्झौतापत्रमा महानगरकातर्फबाट ज्ञवाली र बैङ्कका तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रबचन्द्र गौत्तमले हस्ताक्षर गरेका छन् ।


सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै कृषि विकास बैङ्कका का. मु. उपमहाप्रबन्धक गौत्तमले, महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्वलाई बैङ्कले सम्झौता अनुसार नै पूरा गर्ने बताएका छन् ।


सम्झौताबमोजिम अहिले भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण हुनुपर्ने छ । आउँदो ५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैङ्क आफैंले व्यहोर्ने छ । उक्त क्षेत्रमा बैङ्कले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्नेछ । तर, यस्तो सामाग्री विज्ञापनमुलक हुन पाउने छैन ।

प्रकाशित मिति:March 19, 2020