तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु

  Sampatti News

December 19, 2021

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु

पर्वत-जिल्लाको मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ ।

निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको हो ।

कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका– ५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरुआत गरेको जनाएको छ ।

रु तीन अर्ब ६० करोड लागत अनुमान गरी २०६९ साउनमा सुरु भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असार भित्रै उत्पादन दिने दाबी गरेको थियो ।

भूकम्प नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवादलगायतका झन्झटले निर्धारित समयभन्दा करिब चार वर्ष पाँच महिना ढिला उत्पादन थालेको हो ।

आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पनि जोडिएको छ ।

करिब ५०० मिटर टाढा रहेको मोदीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएको हो ।

समय लम्बिएसँगै विद्युत् उत्पादन लागत बढेको भए पनि खर्चबारे आयोजना पक्षले जानकारी सार्वजनिक गरेको छैन ।

आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भई नसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो ।

विसं २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य थियो ।

तर समयमै आयोजना नसकिँदा सम्झौता के हुने भन्ने निश्चित नभएको आयोजना पक्षले बताएको छ ।

टनेल, पावर हाउसलगायतका संरचना निर्माणकै क्रममा मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति दुई वर्षपछि सरेको थियो ।

विसं २०७२ को भूकम्प, स्थानीयको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाले परीक्षणका क्रममा टनेलमा पानी चुहिएपछि उत्पादन मिति थप दुई वर्षपछि धकेलिएको हो ।

आयोजनाबाट उत्पादित बिजुली पातीचौरस्थित १३२ केभी ए प्रसारण लाइनको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा पठाइएको आयोजनाका सूचना अधिकारी सुरेन्द्र बेल्बासेले बताउनुभयो ।

योसँगै मोदीखोलामा तीन वटा जलविद्युत् आयोजना सञ्चालमा आएका छन् भने थप तीन चार वटा निर्माणाधीन अवस्थामा रहेका छन् ।

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु

प्रकाशित मिति:December 19, 2021