कोरोना प्रभावः प्रशिक्षक योहान कालिन स्विडेन फर्किए

  Sampatti News

March 22, 2020

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका विदेशी प्रशिक्षक योहान कालिन शनिबार स्वदेश (स्विडेन) फर्किएका छन् ।


विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण नेपाली राष्ट्रिय टोलीको विश्वकप छनोट खेलका साथै सम्पुर्ण नेपाली फुटबल गतिविधि ठप्प भएपछि योहान आफ्नै देश स्विडेन फर्किएका हुन् ।


कोरोनाका कारण एन्फाले आफ्ना सम्पूर्ण गतिविधि रोकेको छ । एन्फाले काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग रोक्नुका साथै एन्फा कार्यलयसमेत एक साताका लागि बन्द गरेको छ ।


एक वर्षअघि चैत महिनादेखि नै नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका कालिन कोरोनाको सन्त्रास रोकिएपछि नेपाल फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।


कालिनले सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट खेलका लागि तयारी सुरु गरेका थिए । नेपालले विश्वकप छनोटको एसियाली छनोटअन्तर्गत चाइनिज ताइपेई र अस्ट्रेलियासँगको खेलका लागि तयारीसमेत सुरु गरेको थियो ।

कालिनले लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेटेर ३३ सदस्यीय टोलीलाई अभ्यास गराउन सुरु गरेका थिए ।


कोरोनाको संक्रमणका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप छनोटलगायत सबै फुटबल गतिविधि स्थगित गरेका छन् ।

प्रकाशित मिति:March 22, 2020