नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागी बेलायतसँग छलफल सुरु

  Sampatti News

January 13, 2022

काठमाडौं-नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अग्रसरतामा बेलायत सरकारलाई दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन भएको प्रस्तावको प्रतिफल स्वरुप वार्ता अगाडी बढन् लागेको हो ।

भोलि शुक्रबारदेखि दुबै पक्षबाट बनेको कार्यदल मार्फत वार्ता सुरुहुन लागेको हो ।

नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेका हुन् ।

बेलायतले नेपालस्थित दूताबासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको र नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने मन्त्रालयले बताएको छ ।

यो टोलीले द्विपक्षीय रुपमा गर्ने छलफलबाट नेपाली नर्सलाई बेलायतमा मिल्ने अवसर र भर्ति प्रक्रियाबारे सबै तय हुने बताईएको छ । ‘

यस वार्ता टोलीमार्फत सबै छलफल भएर समझदारी भएमा समझदारीदारी पत्र समेत यही टोलीले तयार गरेर प्रक्रिया अगाडी बढने बताईएको छ ।

अहिलेको छलफलमा करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधि तथा प्रक्रिया बारेमा छलफल हुने एजेन्डा रहेको मन्त्रालयले बताएको छ ।

वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणवद्ध रुपमा नर्सहरु लैजाने छ ।

बेलायतले अनौपचारिक छलफलमा आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको थियो । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तर्गत अवसर दिन चाहेको बताएको थियो ।

बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको बुझिएको छ ।

नेपालबाट कति नर्स, कहिलेसम्म, कुन मापदण्ड, विधि, प्रक्रियाबाट लैजाने भन्ने कुरा अहिलेको छलफलबाट तयहुने बताईएको छ ।

अनौपचारिक रुपमा बेलायत सरकारले नेपालबाट १० हजार जना नर्सलाई रोजगारी दिनसक्ने बताएको श्रममनत्री कृष्णकुमार श्रेष्ठले बताएका छन् ।

सरकारीस्तरमै सम्झौता गरेर नर्स लैजान चाहेकाले सरकारीस्तरमा (जीटुजी) समझदारी गर्न अहिले दुवै देशका श्रम अधिकारीहरू नियमित वार्तामा जुट्न लागेका हुन् ।

छनोट भएर जाने नर्सले वार्षिक ४८ हजार पाउन्ड स्टर्लिङ (मासिक ४ हजार पाउन्ड) अर्थात् करीब ७५ लाख रुपैयाँसम्म तलब पाउनसक्ने चर्चा छ ।

प्रकाशित मिति:January 13, 2022