लकडाउन र दस कर्म

  Sampatti News

April 12, 2020

✍️ रामेश्वर शर्मा भुर्तेल

सरकारको कोरोना भाइरस नियन्त्रण गर्न एक साता लकडाउन गर्दै थियो। यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको थियो । अत्यावस्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिवन्ध लगाइएको थियो ।
भोलिपल्ट….
त्यो दिन बेलुकी निद्रा नपुगेको हो कि जस्तो भयो  बिहान सडकमा गाडीहरु गुडेको थिएन कोरोनाको कारणले त्योभन्दा पनि लकडाउन समय तोकिएको थियो। सरकारले लकडाउनको समय तोक्नु पनि घरमा ठूलो भुमरीमा अाउनु पनि एकैसाथ… पिताको सास गयो ।
‘लकडाउन’ अहिले विश्वव्यापी चर्चा र प्रचलनमा छ । यति मात्र होइन, यो शब्द अहिले व्यवहारिक रुपमै अभ्यासमा पनि छ। त्योभन्दा पनि दुखमा बुझे लकडाउन

“बिदाइ भनेको तिनको लागि मात्रै हो, जसले आँखाले माया गरेका हुन्छन् । मुटु र अन्तरआत्मादेखि माया गर्नेहरुलाई छुट्याउने कुनै चीज नै हुँदैन “

मृत्युसंग डरलाग्नु स्वभाविक हो। अधिंकास मानिस मृत्युसंग डराउँछन्। दिउँसो भन्दा राती बढी डर लाग्छ, किन? जुन कुराको यथार्थ थाह हुदैन, जुन देख्न सकिदैन, त्यसबाट डर पैदा हुनु सामान्य हो। तर साच्चैँ मृत्यु के हो?
मृत्यु शब्द सुन्ने बित्तिकै सबैभन्दा पहिले ‘सबैकुराको अन्त्य हुने’ सोच आउँछ। ‘सबैकुराको अन्त्य’ हुने सोच नै डरको कारण बन्न जान्छ। जे हुदैछ त्यसको अन्त्य होस्, हामी चाहदैनौ। तैपनि दुःखको अन्त्य होस भनि कामना गर्ने गर्छौ।

मृत्युले राम्रा वा नराम्रो दुवैमा परिवर्तन ल्याउँछ। मृत्यु पश्चात आत्मा एउटा शरिरबाट अर्को भौतिक शरिरको खोजीमा निस्कन्छ। अर्थात आत्मा एक नयाँ जीवनको खोजीमा बुढो शरिरलाई छोडिदिन्छ।

मृत्युसँग कुनै वार्ता र सहमति हुनसक्दैन । सम्झौता हुँदैन । मृत्युुसँग कसैको पनि दोहोरो सम्वाद हुन सक्दैन । मृत्यु पूरै निरंकुश र अधिनायक हुन्छ । कस्तो विचित्रको हो यो मृत्यु । मृत्युसँग कोही पनि सामना गर्न चाहँदैन । जो पनि यसबाट परपरै भाग्न खोज्छ । मृत्यु एक्लो हुन्छ । मृत्युः शब्द सुन्नासाथ कान ठाडा हुन्छन, आङ जिरिङग हुन्छ, शरीरमा रोमाञ्च हुन्छ । पसिना छुट्छ । मृत्युः शब्दले नै कति भयावह कम्पन दिन्छ । अनि यस शब्दको यथार्थ बोध हुने त कुरै भएन । मृत्यु कस्तो हुन्छ भनेर कसैले पनि अनुमान गर्न सक्दैन । अनुभव कसैलाई पनि हुँदैन–मृत्युको । अनुभव– अनुभूति र थाहाभन्दा टाढा अगम्य हुन्छ मृत्यु । अर्थात मृत्युमा पुग्ने कोही पनि फर्किदैन । सबैभन्दा अप्रिय केही छ भने त्यो मृत्यु हो । मृत्यु कहिले हुन्छ कसैलाई थाहा हुन्न । मृत्यु कसरी हुन्छ भन्न सकिन तर हामी मर्छौ भन्ने कुरा सबैलाई थाहा हुन्छ । मृत्यु र जीवन एक अर्कोको विकल्प होइन।
डरको सबैभन्दा ठुलो कारण मोह हो। यो जीवनको मोह, जीवनसंग जोडिएका मानिस अनि वस्तुको मोह। त्यसैले मृत्युसँग डर लाग्छ। मोहको कारण। केही मानिस यस्ता भेटिन्छन् जो मृत्युसंग डर मान्दैनन। मृत्युसंग डर नमान्नेले साँच्चैको जीवन जिएका हुन्छन्, जीवन जिउने कला जानेका हुन्छन्।

संसारको वास्तविकता जानेर पनि हामीलाई होस हुदैन, जीवन छ भने मृत्यु पनि हुनै पर्छ। किनकी संसार क्षणभरको छ, परिवर्तनशील छ। परिवर्तन संसारको रित हो। जसले परिवर्तन बुझेको हुन्छ उसले जीवनको यथार्थ बुझ्नसक्छ। यो लेख पढ्नसुरु गर्नु भएको तपाइ र यो वाक्य पढ्दै गरेको तपाई एउटै हुनुहुन्न। तपाइको शरिर परिवर्तनशील छ, कोष मर्ने अनि नयाँ बन्ने प्रक्रिया प्रत्येक पल भइरहेको छ। हाम्रो सोच भने फरक हुन्छ, जे भइरहेछ सधै रहन्छ झै व्यवहार गर्छौ।

यस्ता व्यवहारको पछाडी केही कारण छन्। हामीलाई जीवनको उद्धेश्य थाह नहुनाले यस्तो सोचिन्छ। जीवनको उद्धेश्य थाह पाउन हामीलाई कुनै चाख छैन। किनकी आफै बाटो बनाउन कठिन छ, त्यसैले त हामी त सदियौं देखि अन्यले देखाएको बाटो हिड्दैछौ।
आफ्नो परिवारभित्रको सदस्यको मृत्युपश्चात् मृतकको परिवारजनले काजकिरिया गर्छन् ।  आआफ्नै जातीय परम्पराअनुसार काजकिरिया गर्ने परम्परा छ ।  नेपाललगायत विश्वका थुप्रै देशमा गरिने विविध किसिमका अन्त्येष्टिको एउटै उद्देश्य मृतात्माको शान्तिको कामना गर्नु नै हो ।  मृत्यु संस्कार भनेको मृतकप्रति श्रद्धापूर्वक गरिने सम्झना एवं मृतकको आध्यात्मिक यात्राको लागि परिवारका सदस्यबाट गरिने कामना तथा शुभेच्छा हो ।  मृतकको शवलाई घाटमा पु¥याई मृतकको छोरो वा परिवारको नजिकको सदस्यले आगोको दागबत्ती दिँदै सदगत गर्छ ।  आफ्नो जातीय, धार्मिक परम्परा र आस्थाअनुसार मृत्यु संस्कार गरिने चलन धर्म, परम्परा ठाउँ र जातजातिअनुसार फरक–फरक छन् ।  मृतकका नातेदारले मृत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस् भन्ने भावनाले यो संस्कारको विकास भएको मानिन्छ ।  नेपाली समाजमा आफ्नै समुदाय र आफ्नै सांस्कृतिक प्रचलनअनुसार काजकिरिया गर्ने चलन छ, जुन कुनै समुदायमा खुकुलो छ भने कुनै समुदायमा अति कठोर जस्तो देखिन्छ ।  केही समुदायले अचेल काजकिरियामा लचकता अपनाउन थालेका छन् ।
किरिया कर्मको अवधिमा १३ दिनसम्म जति कष्ट खेप्दै चोखोनितो र शुद्ध रहन सक्यो मृतक उति सजिलै स्वर्ग अथवा बैकुण्ठ जाने बाटो सहज हुन्छ, सन्तानलाई धर्म मिल्छ भन्ने धार्मिक विश्वास छ ।  किरियापुत्रीले दिनहुँ नुहाइधुवाइ गरी घाँस, परालमा राडी ओछ्याएर, राडीनै ओडेर सुत्नुपर्ने, शरीरमा सेतो लगौटी र खाँडीको बर्को ओडी पुुस÷माघको जाडो भए पनि कटाउनुपर्ने, शौचालय प्रयोग गर्न नहुने, घिउ, अदुवा र कागतीमात्र खाएर बस्नुपर्ने चलन छ ।  किरिया अवधि भर कसैलाई नछोई धागो बेरेर कोरो बनाइएको भुइँमा सुत्नुपर्छ ।  दिनको एक पटक एक छाक निस्तो भात खाई मृतकको नाउँमा पायस पकाइ पिण्ड दिने प्रचलन सदियौँदेखि हिन्दु संस्कारमा चल्दै आएको पाइन्छ ।  पिण्डदान मृतकको आत्मा पितृलोक नपुगेसम्म उसलाई बाटोमा चाहिने भोजनको रूपमा गरिएको विश्वास छ ।
तेह्रौँ दिनमा चलनअनुसार गाईको पुच्छर समाइ किरिया बार्ने परिवारजनले ब्राह्मणलाई शैøया दान गरेपछि मात्र मृतकको तेह्रौँ दिनको कर्म सकिएको मानिन्छ ।  मृतकका परिवारमा एक वर्षसम्म शोकमा रहेको पहिचान स्वरूप सेता लुगामात्र लगाई चोखोनितो खाने गरिन्छ ।  मानिसको मृत्यु भएको घरमा एक वर्षसम्म जुठोबार्ने चलन अझ सम्म छ ।  तेह्रौँ दिन सबै कार्य समाप्त गरेर मलामीलाई भोजन खुवाएपछि मृतक मुक्त भएर पितृ सरहको स्थानमा पुग्ने विश्वास गरिन्छ ।  त्यसपछि पनि वर्ष दिनसम्म हरेक महिनामा मासिक श्राद्ध गरिन्छ र वर्ष दिन पुगेपछि एक मुख्य बरखी श्राद्ध गर्ने र गौदान तथा अन्य दान दिने चलन छ ।  गौदान गर्नुको तात्पर्य हो मृतक यस लोकबाट अर्को उच्चलोकतिर जाने बाटोमा पर्ने वैतरिणी नदी तर्न सजिलो होस् ।  वर्ष दिनको काम सम्पन्न भएपछिका वर्षमा पितृलाई मरेको तिथिमा तर्पण पिण्ड दिन वाषिर्क श्राद्ध गरिरहने प्रथा छ ।  जुठोबार्नु भनेको मृतकको घरमा पूजापाठ नगरिने, चाडबाड नमनाइने, कुनै प्रकारका उत्सव उमङ्गमा परिवारका सदस्य सरिक नहुने, रगतको नातागोताभित्र बिहे–ब्रतबन्धजस्ता शुभ कर्म गर्न नमिल्ने आदि हुन् ।  एक वर्षपछि वार्षिकीमा पूजाआजा गरी जुठो फुकाइन्छ, जुठो परेको घर चोख्याउने चलन छ ।
पूर्वी नेपालको किरात, लिम्बू जातिमा लोग्ने मानिसको निधन भए चार दिनसम्म र स्वास्नी मानिसको निधन भए तीन दिनसम्म जुठोबारे पुग्छ ।  त्यहीका ब्राह्मण, क्षेत्रीभन्दा फरक प्रचलन जुठोको अन्तिम दिन लिम्बूको सगुनमा मासु र जाँडरक्सी अनिवार्य हुनैपर्छ ।  राई र लिम्बू जातिमा कोही मरेमा पहिले बन्दुक पड्काएर मलामी छिमेकीलाई बोलाउने चलन छ ।  मलामी जाँदा सबै मलामीले हात–हातमा खुाडा, खुकुरी, बन्दुक, तरबार आदि हातहतियार बोकेर आवाज निकाल्दै शव लैजाने चलन छ ।  शवलाई गाड्ने काम सकिएपछि जाड चढाउनुपर्छ ।  अशौच बार्ने विषयमा पनि अन्य जातिभन्दा जनजाति र आदिवासीमा भिन्नता देखिन्छ  ।  त्यहाँका आदिबासी राजवंशी–ताजपुरियामा किरिया बारेको व्यक्ति हाटबजार घुमेर धेरै व्यक्ति हे¥यो भने मृतक स्वर्ग जान्छ भन्ने धार्मिक विश्वास छ ।  उनीहरूको मृतकको छोरा सबै भाइ किरियामा बस्नु नपर्ने चलन छ ।  कुनै एक भाइ किरियामा बसे हुन्छ, एउटै बाबुआमाका छोरा अरू भाइले खासै चोखोनितो बस्नुपर्दैन ।
 काठमाडौँ वरपरभन्दा बाहिरका जिल्लामा अझ पनि काजकिरिया गर्ने प्रचलनमा खासै परिमार्जन भएको पाइँदैन ।  सायद समाज विकास भएकै कारण हुन सक्छ, त्यहाँको चलनभन्दा काठमाडौँको चलनमा केही सुधार भएको पाइन्छ ।  काठमाडौँमा सुधारिएको सभ्यतासँगै किरियाक्रममा पनि परिस्कृत भई केही खुकुलो हुँदै गएको छ ।  किरियापुत्रीले फलफूललगायतका सुख्खा खानेकुरा पनि खान मिल्ने चलन काठमाडौँ हुँदै गाउँतिर भित्रिन थालेको छ ।  मृतकको शव बोक्दै घाटसम्म महिला पनि मलाम जाने चलन पूर्वी जिल्ला हुँदै पश्चिमतिर सर्दै गएको छ ।  नेपालको राजधानीलगायतको मध्य क्षेत्रका जिल्लामा महिला मलामी जान वञ्चित थिए ।  त्यसमा अहिले छिटफुट सुधार आएको छ ।  आजभोलि १३ दिन क्षेत्रबास बस्ने जुन पुरानो प्रचलन छ, त्यसमा पनि कसैले सात दिन कसैले पाँच दिन गर्ने चलनको बहस हुन थालेको छ ।  यताकता यसको प्रगोग हुनु यसको परिवर्तित रूप हो ।
परिवारमा सदस्यको मृत्युु बियोगमा छट्पटिएको व्यक्तिमाथि नै शुद्ध अनि चोखोनितोको नाउँमा थोपरिएको यी र यस्ता कष्टप्रति खुलेर आवाज उठ्न सकेको पाइँदैन ।  यदि धर्म संस्कार विरोधीको आरोप नलाग्ने हो भने यस्ता परिमार्जन गर्नैपर्ने विषयमा बोलिने आवाज पक्कै पनि धेरै हुन सक्थे तर हामीलाई सामाजिक, धार्मिक जञ्जिरले बाधेको तितो यतार्थका कारण कति सुधारिनुपर्ने विकृति विसङ्गति पनि परिमार्जन हुन सकिरहेको छैन ।  अझै पनि पुराना पुस्तामा यो परिवर्तनको यथार्थ चिर्न सक्ने इच्छा एवं क्षमता नहुन सक्छ तर तिनै पुस्ताका सन्ततिले गलत कुराको विरोध गर्दै सही कुरालाई सहजताका साथ स्वीकारी अवलम्बन गर्न थालेपछि नेपाली समाजमा प्रचलित विविध संस्कारभित्रका विकृति विसङ्गति बिस्तारै कम हुँदै गएको छ ।  

म खनिजको रुपमा मरें र विरुवा बने, म विरुवाको रुपमा मरें र जनावर बनें, म जनावरको रुपमा मरें र म मानिस थिएँ । म किन डराउने ? म नमरेको चाहिँ कहिले थिएँ र ?

मृत्युपछि के हुन्छ, यो बहसको मात्र विषय हो। मृत्यु पछिको सत्यता जीवन छदै थाह पाउन सकिदैन। थाह नभएको विषय भएकाले नै मृत्युको डर लाग्ने गर्छ। मृत्यु पछिको सन्दर्भमा ‘स्वर्ग’ र ‘नर्क’ निकै प्रचलनमा रहेको विषय हो। तर ‘स्वर्ग’ र ‘नर्क’ जीवन छदै अनुभव गरिन्छ, जसको लागि मृत्यु नै पर्खनु पर्दैन। बालककाल देखि नै मृत्यु अनि स्वर्ग र नर्कको बारेमा धेरै विषय थाह भइसकेको भए पनि कुनै पनि तथ्य वा विचार भरपर्दा छैनन, झुक्याउनलाई भनिए जस्तै।

मृत्युलाई केहि दर्शन शास्त्रीले मानिसको भौतिक शरिर मात्रको मृत्यु हुन्छ । आत्मा कहिल्यपनि मृत्यु हुन्न भनेका छन । उनिहरको तर्क छ–मानिसको शरिर जुन चिजले वन्यो त्यो नै आत्मा हो । आत्मा र शरिर अलग हुनुनै भौतिक अर्थमा मृत्यु हो । शरिरमा आत्माको प्रवेश गरेपछि मात्र जिव बन्दछ । जिउ र आत्माको मिलन बाटनै जिवात्मा बन्छ । त्यसैले जिउ अथवा शरिर भन्दापनि सत्यचाहि आत्मा हो । हाम्रो शरिर भौतिक रुपमा मात्र रहेको हुन्छ । त्यसलाई सन्चालन गर्ने अदृष्य शक्ति आत्मा हामी भित्र रहेको छ । शरिरका सबै इन्द्रिय लाई चलाउनेनै आत्मा हो । आत्माको कहिलेपनि मृत्यु हुन्न भन्ने पनि छन । तर आत्मा केहो ? यो कस्तो हुन्छ ? कहा बसेको हुन्छ ? मृत्युको बारेमा थाहा नभए जस्तै कसैलाई पनि थाहा हुदैन । त्यसैले भनिन्छ, जुन चिज जन्मिन्छ, त्यसको मृत्यु हुनै पर्दछ । मृत्यु स्वभाविक र अपरिहार्य प्रक्रिया हो । जसलाई विज्ञानको नियमले पुष्ठि गरेको छ । तर आफ्नो मृत्यु कसैले देख्न नसक्ने भएकाले मृत्युको बारेमा कसैले सोच्नु र चिन्तागर्नु व्यर्थ छ पनि भन्ने गरिन्छ ।
आत्माप्रति विस्वास गर्नेहरु ले भनने गर्दछन, यो देखिने शरिर आत्माको खोलमात्र हो । आत्मा एउटा शरिरको मृत्यु हुना साथ अर्को शरिरमा प्रवेश गर्दछ । सृष्टि देखिनै यो क्रम चल्दै आएको छ । शरिर को विलय भएपनि आत्मा रहि रहन्छ । त्यसैको प्रभावले हामीहरु लाई अमर रहि रहने इच्छा जाग्दछ । अनि मृत्यु देखि डराउछ पनि । जुन कुरा सत्य छ त्यमा डराएर केहि हुदैन । तर पनि मानिसहरु आफु अहिले पनि मृत्यु नहुने सोच्दछन । धेरै मानिस लोभ,पाप, र कुकर्ममा तल्लीन हुन्छन । एक पटक सोचौ त मृत्युको बारेमा तपाइले कस्तो महसुस गर्नुहुन्छ । तर मृत्युको बारेमा धेरै सोच्ने चाहि नगर्नुस,किनकी मानिस जन्मेपछि सत्य भनेकै मृत्यु हो । यसलाई कसैले रोक्न, टार्न र यसबाट जोगाउन सक्दैन ।

हाम्रो संस्कृतिअनुरूप बाबुआमाको मृत्युपछि तिनका सन्तानले १३ दिन काजकिरिया गर्ने परम्परा रहिआएको छ । यो काजकिरियाकै आधारमा दाजुभाइहरूमा नजिक, टाढा, को, कति भन्ने प्रस्ट्याउनका लागि कतिले ‘हामी त १३ दिने’ पनि भन्ने गर्दछन् । तेह्रदिने भनेपछि छाक जुठै लाग्ने नजिकका रहेछन् भन्ने बुझिन्छ । हिन्दू धर्मावलम्बीमा पनि सबैमा १३ दिनको प्रचलन छैन । राई, लिम्बू, गुरुङ, मगरलगायत कतिपय जनजातीय समुदायमा बाबुआमाको मृत्युमा १३ दिन जुठो बार्ने चलन छैन । आ–आफ्नो परम्पराअनुरूप कसैले तीन दिन, पाँच दिन, कसैले तीन छाक बार्छन् । तर, यो पनि परम्पराअनुरूप फरक–फरक तरिकाले गरिन्छ । जस–जसले जुन तरिकाले गरे पनि पितृ बुझाउने कार्यचाहिँ सबैले गर्छन् । क्षेत्री, बाहुन र दलितको भने जन्मेदेखि मृत्युसम्म प्राय: सबै संस्कार एउटै हो । यी जातिमा छोरा प्रतिको अगाध चाहना पनि मृत्यु–संस्कारसँगै जोडिएको छ । जनजातिमा पनि मृत्यु–संस्कार आफ्नो प्रचलनअनुरूप प्राय: छोराले नै गर्छन् । तर, छोरी र ज्वाइँको भूमिका पनि त्यत्तिकै हुने गर्छ । कतिपय जातिमा ज्वाइँ नभई मृत्यु संस्कारको सुरुवात नै हँुदैन । यता लोकतन्त्रले जनजातिको सूचीमा पु¥याएका नेवार समुदायको मृत्यु–संस्कार पनि १३ दिनकै हुने गर्दछ । तर, गर्ने प्रक्रिया भने फरक छ । क्षेत्री, बाहुन र दलितले बाबुआमा जलाएपछि छोराहरूले घाटमै कपाल काट्छन्, नेवार समुदायमा १० दिनका दिन कपाल काट्ने चलन छ । यो पनि ठाउँअनुसार फरक छ, पहाडतिर प्राय: सोही दिन घाटमै कपाल खौरने चलन छ भने उपत्यका र तराईका कतिपय भागमा १० दिनमा मात्रै कपाल खौरिएर सेतो लुगा लगाउने चलन छ । कतिपय नेवार परिवारमा सबै छोराले कोरामा बस्नुपर्दैन । बाबुको मृत्युमा जेठो छोराले र आमाको मृत्युमा कान्छो छोरा कोरामा बस्ने गर्छन् । मधेसी र मारवाडी समुदायमा १३ दिन जुठोमा बस्ने चलन छ । जनजातिबाहेक सबैको मृत्यु–संस्कार प्राय: खोलाको छेउमा जलाएर गरिन्छ । जनजातिमा भने जमिनमुनि गाड्ने चलन छ । कतिले आफ्ना आमाबाबुको चिहानमाथि विभिन्न आकारका स–साना घर बनाएर तिनलाई विशेष बनाउने गरेको पनि देखिन्छ ।
मृत्यु–संस्कार भन्ने कुरा हामीकहाँ मात्रै होइन, विश्वमै आ–आफ्नो जातीय, धार्मिक र सांस्कृतिक परम्पराअनुरूप गरिने कुरा हो । परिवारको सदस्यको मृत्यु भएका दिन कतै मदिरासहितको भोजभतेर गरिन्छ, मृत्यु उत्सव बनाइन्छ भने कतै उक्त दिन घरमा चुलो बाल्न पनि मिल्दैन । धर्म, समुदायअनुरूपको प्रचलनमा कसैले हस्तक्षेप गर्न मिल्दैन भन्ने मान्यता राखिन्छ किनभने यो आ–आफ्नो संस्कारसँग जोडिएको कुरा हो । यसप्रकारको संस्कार कसले कति मान्ने कति नमान्ने भन्ने कुरा मानिसको स्वविवेकको कुरा हो, गर्नैपर्छ भन्ने कुनै करकाप गरेको पनि पाइँदैन । हिन्दू धर्म–संस्कार नुरूप बाहुन परिवारमा जन्मिएपछि बाबुआमाको काजकिरिया १३ दिन नै गर्नुपर्ने हो, तर नेता बीपी कोइरालाई उक्त संस्कार ठीक लागेन त्यसैले उहाँले बाबुआमाको किरिया गर्नुभएन । उहाँलाई बाबुआमाको क्रिया गरेन भनेर कसैले पानी काढेन, तेह्रदिनेहरूले कुलबाट टाढा गरेनन् । किनभने हिन्दूधर्म नै यस्तो धर्म हो जसको पालना नगरे पनि कुनै सजाय भोग्नुपर्दैन । यो स्वेच्छिक छ, हिन्दू धर्म–संस्कारमा स्वविवेकको भरपूर प्रयोग गर्न पाइन्छ । हिन्दूधर्म परम्पराअनुरूप बाहुनको छोराले लुगा फेरर खालीखुट्टा बाबुको लासलाई अन्तिम श्रद्धाञ्जलीस्वरूप दागबत्ती दिनुपर्नेमा एमाओवादी नेता प्रचण्डले कोटपाइन्ट र छालाको जुत्तामा सजिएर लालसलाम गर्नु भो । परम्पराविपरीत भयो भनेर केही आलोचना पाए पनि उहाँलाई त्यस्तो खासै फरक परेन । यस्ता केही नेताहरू छन् जसले आफ्ना बाबुआमाको काजकिरिया नगरेर भोलि आफ्नो किरिया पनि नगरे हुन्छ भन्ने सन्देश समाजलाई होइन तिनका सन्तानलाई दिएका छन् । समाज त त्यही गर्छ जो आफूलाई ठीक लाग्छ ।
मुलुक सङ्क्रमणकालमा छ, यो देशमा उठान गर्नुपर्ने र निक्र्योल निकाल्नैपर्ने मुद्दाहरू धेरै छन् । यस्तो बेलामा हिन्दूहरूको मृत्यु–संस्कार छोट्याउनुपर्ने कुरा आश्चर्यजनक रूपमा बहसमा ल्याउन खोजिएको छ । यो कसले ल्यायो ? यतिबेलै किन आयो ? खोजीको विषय भएको छ । आफूलाई जन्म दिने बाबुआमाप्रतिको श्रद्धा हो मृत्यु–संस्कार । यति मात्र नभई हिन्दूधर्ममा यसको आफ्नै महŒव छ । मरेपछिको संस्कार गर्दै जाँदा १० दिनपछि प्रेतबाट आत्मा बन्ने मान्यताबाट निर्देशित भएका कारण राम्ररी काजकिरिया नभएका या प्रेतबाट पितृमा परिणत हुन नपाएका आफन्तहरूले पुस्तौँसम्म सन्तानलाई दु:ख दिएका, सपनामा या कसैको आत्मामा आएर मैले खान पाइनँ, भड्किरहेको छु भनेका कारण वर्षौं पछि आफन्तले काजकिरिया गरेका घटना पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । यसप्रकारको वास्तविकता जे–जे भए पनि मृत्यु–संस्कार आफ्ना बाबुआमाप्रतिको श्रद्धासँज्ञगै एउटा विश्वास पनि हो । तर, अहिले हामी यस्तो कुरामा बहस गरिरहेका छौँ जहाँ आफ्ना बाबुआमा मरेको कल्पना गरिन्छ र १३ दिन दु:ख भयो भनेर तीन दिन मात्र दु:ख गरूँ भनेर योजना बनाइन्छ । दु:ख–सुख भन्ने कुरा महसुस गर्ने कुरा हो । बाबुआमाप्रति कुनै श्रद्धा नभएका मानिसले उनीहरू बाँच्दै पनि कुनै सुख महसुस नगरेका हुन सक्छन् । त्यसप्रकारका मानिसले तीन दिन मात्र किन, एक दिन पनि जुठो नबार्न सक्छन् । तर, यदि कसैले चाहन्छ भने त्यसमा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन । मृत्यु–संस्कार भन्ने कुरा सांस्कृतिक मात्र होइन, निकै संवेदनशील कुरा पनि हो । यो राज्यले नीति बनाएर लागू हुने या गरिने कुरा होइन । आ–आफ्नो परम्पराअनुरूप चल्ने कुरा हो । कतिपयले सरकारी कर्मचारीले १३ दिन छुट्टी बस्दा राज्यलाई घाटा भएको हास्यास्पद तर्क पनि दिएका छन् । कतिले चाहिँ छोराछोरीको व्यस्तताको कुरा उठाएका छन् । तिनै बाबुआमाले जन्माएर दु:ख गरी हुर्काएर पढालेखा बनाएर व्यस्त बन्न पुगेका छोराछोरीले आफ्ना बाबुआमाको काजकिरिया गर्न समय निकाल्न सक्दैनन् भने त्यस्ता छोराछोरीले जुठो नबारेकै राम्रो ।

“हाम्रो मृत्यु कहिल्यै नसिद्धिने अनन्तसँगको विवाहोत्सव हो “

‘स्वर्ग’ र ‘नर्क’ मान्ने हो भने पुर्वजन्म र पुर्नजन्म पनि सम्भव देखिन्छ। पुर्वजन्म र पुर्नजन्म हुनु पछाडी धेरै कारण हुने गर्छन। जब सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त गरे उनले आफ्नो पुर्वजन्म नहुने बताएका थिए। बुद्धत्व प्राप्त हुनासाथ पुर्वजन्म अनि पुरै सृष्टीको बारेमा ज्ञान पाएका बुद्धले आफ्नो जीवनको लक्ष्य भेटेको र अब कुनै पुर्नजन्मको आवश्यकता नपर्ने हुनाले अर्को जन्म नहुने बताएका थिए। बर्षौंको ध्यानले उनले जीवनको यथार्थ जानेका थिए। बुद्धको अनुसार मृत्यु जीवको अन्त्य होइन। एउटा भौतिक शरिरले जीवनको सत्यको लागि गरेको प्रयत्न अनुसार अर्को जन्म निश्चित हुन्छ। उदाहरणको लागि तपाइले केही कुरा जान्न खोज्दै हुनुहुन्छ, एक दिन किताब खोज्न बिताउनुहोला, अर्को दिन एउटा किताब पढेरसक्नु होला, तेस्रो दिन सोही बिषयमा अन्यसंग छलफल गर्नुहोला, अर्को दिन सो विषयमा तपाइ ठुलो जानकार भइसक्नुहुनेछ। त्यसपछिका दिनमा तपाइले सो विषय खोजिरहनु पर्दैन। त्यसरीनै हाम्रो जन्म हुने गर्छ। प्रत्येक जन्ममा केही न केही सिकिन्छ जसले अर्को जन्ममा सहयोग गर्छ।

लाखौ योनी हुदै मानव शरिरमा आत्माको जन्महुने धेरै पुराणमा सुनिदै आएको हो। साथै आत्मा अमर हुने विषय संसारका सबैजस्तो धर्म सम्प्रदायले बताउँछन्। शरिरको उमेर भएझै आत्माको पनि उमेर हुन्छ प्रत्येक जन्ममा सिकेका कुराले आत्माको उमेर तय गर्छ। जति आत्माको उमेर बढ्दै गयो त्यति नै जीवनको यथार्थको नजिक पुगिन्छ, बुद्धत्व बाटोमा अघि बढिन्छ। आखिर मृत्यु पनि जीवनको सत्यताको लागि आत्माले खोज्ने नयाँ शरिर हो, नयाँ बाटो हो,नयाँ अनुभव हो ।

लकडाउन र मेरो घरमा भुमरी पर्नु एकैचोटि भयो
दश दिन सम्म नेपाली समाजले सिकाएको दश कर्महरु 

प्रकाशित मिति:April 12, 2020