संसार कि जननि

  Sampatti News

April 23, 2020

✍️ रामेश्वर शर्मा भुर्तेल


मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।”

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’

आमाको महत्व माथि उल्लिखित दुई पंत्तिले नै प्रस्तुत गरेका छन् । आज हरेक सन्तानले जे–जति प्रगति गरेका छन्, जे– जस्ता नाम राख्न सफल भएको छन्, ती सबैको श्रेय तीनै आमाहरुलाई नै जान्छ जसले दस महिना आफ्नो कोखमा राखेर कठिनभन्दा कठिन पीडा सहेर आफ्ना सन्तानलाई यस धरतीमा जन्म दिन्छन्, आफ्नो छातिको अमृत पान गराएर हुर्काउँछन, तोते बोलीसंगै ज्ञानका कुराहरु सिकाउँन् । आमाहरुले नै घरको सारा काम सकेर सबैको चित्त बुझाउदेै आफ्ना बालबालिकालाई समय दिन्छन । आमाहरुले मेला-पात जाँदा पनि छोराछोरीलार्ई बोकेर लैजान्छन् र जस्तै कष्टमा पनि सकुसलै हुर्काउछन, पढाउँछन् र ठुलो मानिस बनाउँछन् । आमाहरु नै हुन् जो सन्तानकै लागि आफू रित्तिदै जान्छन, सन्तानहरुलाई भर्दै जान्छन । आफू चिसोमा सुतेरपनि सन्तानलाई न्यानोमा राख्ने तीनै आमा हुन । सबै आफ्ना दुखलाई आफैभित्र दबाएर पनि सन्तानलाई खुसी नेै देखाउने पनि तिनै आमा हुन । सन्तानका लागि कति दुख र पिडा आमाले सहन्छन त्यसको बयान गर्नका लागि कुनै शब्द नै छैन ।

आफैं आमा भएर भोगेका दुःख र पीडाका अनुभवले आमाप्रतिको श्रद्धा अझै बढेर गएको छ । आमाको माया नदी जस्तै छ बगिरहन्छ निरन्तर र निश्छल भएर । त्यसमा न कुनै स्वार्थ छ न कुनै द्धेष छ । सन्तानको खुसी, प्रगति र उन्नतिमा हरसमय रमाउने व्यक्ति भनेकै आमा आमा हुन् ।

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औँसीका दिन मनाइने पर्व आज आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आजको दिन दिवंगत आमाको सम्झनामा काठमाडौंस्थित मातातीर्थमा ठूलो मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ ।

कसरी भयो मातातीर्थको उत्पत्ति ?

धेरै वर्ष पहिले त्यस ठाउँमा गाईबस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ त्यसको नाम मातातीर्थ राखे ।

प्रत्येक वर्ष आजकै दिन आमा नहुनेहरूले मातातीर्थमा गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउँदै गर्दा यस ठाउँमा मातातीर्थ मेला लाग्न थाल्यो ।

हाम्रो समाज स्वार्थ र इष्र्याले भरिएको छ । परिवारभित्र वा बाहिर एकको उन्नति देखेर अर्काै जल्न सक्छ तर एउटै ब्यक्ति आमा हुन् जसले सन्तानको सुख र प्रगति देख्न चाहन्छिन् । हरेक आमाहरु आफ्ना सन्तानहरुले निरन्तर प्रगति गरेको देख्न देख्न चाहन्छुन्, उनीहरुको आँेठमा हांसो देख्न चाहन्छन, आपत–बिपत र दुखबाट उनीहरुलाइ हरसमय जोगाएर राख्न चाहान्छन् । त्यसैले त भनिन्छ “जननि, जन्म भूमिश्च स्वर्गादपि गरियसी ।” जन्मभूमि र जन्म दिने आमा स्वर्गभन्दा पनि ठूला हुन् ।

“तिमी मलाई एउटी असल आमा देउ, म तिमीलाई एउटा असल राष्ट्र दिन्छु” । नेपोलियन बोनापार्टको यो भनाई त्यसै आएको छैन । एउटी असल आमाले सिंगो परिवारलाई नै असल, सभ्य शिक्षित र एकताबद्ध बनाउन सक्छिन् । परिवारको स्वास्थ्य, शिक्षा र खानपानदेखि सिगो परिवारलाई सही बाटोमा डोर्याउने काममा अहम भुमिका आमाको नै हुन्छ । परिवारमा मेलमिलाप छाउँदा सिंगो परिवारको उन्नतिको ढोका खुल्दछ । धेरै असल परिवार मिलेर नै सभ्य समाज र राष्ट्रको निर्माण हुन्छ । त्यसैले आमाको भूमिका परिवार भित्र मात्रै सीमित छैन । यसरी देखिन्छ– सिंगो राष्ट्र निर्माणमा आमाको गहिरो भुमिका छ । सबै महिलाहरुले आफ्नो श्रीमान, छोराछोरी, बुहारी, नाति– नातिनीहरुको स्वतन्त्रता र आत्म सम्मानको ख्याल गर्दै सिंगो परिवारलाई एकजुट बनाउन सक्ने हो भने यो सिंगो राष्ट्र सुन्दर, शान्त र समृद्ध बन्नेछ । अब यही कुरालाई हरेक आमाहरुले मनन गर्नु पर्दछ ।
नेपाल आमा भएर मात्रै हाम्रा आमाहरुको अस्तित्व छ । यीनी त झन् ठूली आमा हुन् । जसलाई हामी थुक्छौ, कुच्छौ, यीनै माथि उफ्रिन्छौँ, जे गरेपनि सहनशील छन् । कतिबेलै यिनको प्रतिवाद छैन । आमाहरु पनि यस्तै हुन । यस्ती सहनशिल आमाको सम्मान गर्न त हामी सन्तानहरुले जान्नु पर्दछ तर आजको उपभोगवादी दुनियामा मानिसले हरेक कुरालाई उपयोगसंग माात्र जोडेको छ– आवश्यक परुन्जेल उपयोग गर्ने र त्यसपछि फ्याँकिदिने । आजका मानिसमा मन भावनात्मक पक्ष ज्यादै झिनो र कमजोर बन्दै गएको देखिन्छ । आफैलाई पनि चोइटयाउने त्रासबाट नेपाल आमाको पनि सुरक्षा गरौ ।

आजका मानिसले हरेक कुरालाई पैसासंग तुलना गर्दछन् । नाता–सम्बन्ध पनि नाफां र नोक्सानसंग गासिएका छन् । त्यस्तै विदेशी संस्कृतिको आक्रमण र टुट्देै गएको सयुक्त परिबारका कारण पुस्तैनी दुरी बढ्दै गएको छ । अघिल्लो पुस्ताका कुरा पछिल्लो पुस्ताले सुन्न र बुझ्न पनि नचाहने भैसकेको अवस्था छ । हिजोआज यस्ता समाचार पनि सुनिन्छ– ”एउटी बुढी आमालाई उनैको छोराले तीर्थ गर्ने बहानामा पशुपतिनाथको मन्दिरमा लगे र आमालाई त्यहीँ छाडेर भागे ।“ बुढी आमा बिचल्लीमा परिन् र पशुपतिमा मागेर बाँच्ने कोशिस गर्दैछिन । यस्ता अनेकौँ समाचार सुन्नु र पढ्नु परिरहेको छ । त्यस्ता मानिसले आफनै कर्तब्यलाई बिर्याै ।

समय परिवर्तनशिल छ । हाम्रा आमाहरुले भोग्नुभएको समय र अहिलेको समयमा धेरै परिर्वतन आएको छ । परिवारका नयां पुस्ताले आमाका अनुभवहरुबाट सिकौं । वहाँहरुका राम्रा गुणहरु त्यसै हराएर जान नदिउँ । हरेक आमाले भोग्नु भएका दुख–कष्टहरु नयाँ पुस्ताका लागि संघर्षका इतिहास बनुन् । अभावकाबीचमा पनि कैले बिचलित नहुने पाठ बनुन् । सन्तानहरुलाई सधै चल्लाले जस्तै ढोपेर राख्ने र जीवनलाई अनुभुति दिलाउने आमाहरुका सघर्ष नेपाली समाजका कथा बनुन् ।

जीवन त संघर्षै–संघर्षले भरिएको हुन्छ । एउटा घटनालाई पार लगायो, अर्काे आउादो रहेछ । सामन्ती समाजका अवशेषहरु बाँकी नै छन् । पुजीबादी समाजका विशेषताहरु भित्रिँदै छन् । बुढ्यौली जीवन असुरक्षित र अपमानित बन्दैछ । आमाको सम्झना एक दिन मात्रै गरेर पुग्दैन, बाँचुन्जेल उनीहरुको सम्मान, सुरक्षा र गुणस्तरीय जीवनका निम्ति सबैले सोचौँ ।

आजका छोराछोरीहरले यही कुराको मनन गर्न सकुन् । जीवित छँदै हरेकले आफ्नी आमालाई संसारकै राम्री बनाउन सकौं । उनीहरुको बुढ्यौली जीवनलाई सुरक्षित र सम्मानित राख्न सकौं । आमा तिमी बोट हौ, हामी त्यसका फूल हौं भन्ने भावना सबै सन्तानमा जागोस् । सबै आमाहरुलाई सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना !

प्रकाशित मिति:April 23, 2020