कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री जोन्सनले जिते कोरोनाः भोलीदेखि नै नियमित काममा जाने

  Sampatti News

April 26, 2020

काठमाडौँ । कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनी काममा फर्किने भएको अधिकारीहरूले जनाएका छन् ।

प्रधानमन्त्री जोन्सनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरूलाई सोमबारदेखि सामान्य अवस्थामा जस्तै काम गर्न थाल्ने बताएका थिए । उनले चिकित्सकहरूको सल्लाहअनुसार नै आफूले नियमित काम गर्न तयारी भएको जानकारी दिए ।

प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बसेका उनी आवश्यक पर्ने व्यक्तिलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्दै आएका थिए ।

प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए । कोरोनाको संक्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा अहिलेसम्म २० हजार ३ सय १९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी हुने देशमध्ये बेलायत पाँचौं देश हो । एजेन्सी

प्रकाशित मिति:April 26, 2020