कर्जामा पुनर्संरचना, असार मसान्तको व्याजमा सहुलियत दिने गभर्नरको घोषणा

  Sampatti News

April 27, 2020

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बढी प्रभावित क्षेत्रका लागि विशेष व्यवस्था गरिने घोषणा गरेको छ।

राष्ट्र बैंकको ६५ औँ वार्षिकोत्सवको अवसरमा आइतबार मन्तव्य जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोनाबाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने बताएका हुन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमास (असार मसान्त) मा भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत प्रदान गर्न व्यवस्था गर्ने समेत भनेको छ।

‘साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिनेछ । साथै, ६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत मिलाइनेछ,’ जारी वक्तव्यमा भनिएको छ।

त्यसैगरी, गर्भनर अधिकारीले बैंकिङ क्षेत्रबाट हुने कर्जा पवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने, लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् । 

‘कोरोनाकाे संक्रमणका कारण उत्पन्न महामारीबाट सिर्जित आजको विषम परिस्थितिमा वित्तीय प्रणालीमा लगानीयोग्य साधनको अभाव हुन नदिन तथा वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ नेपाल राष्ट्र बैंक कटिबद्ध छ। संकटको सामना नीतिगत उपायका माध्यमबाट गर्नुपर्ने यथार्थलाई ध्यानमा राख्दै विद्यमान परिस्थतिमा आर्थिक क्रियाकलाप विस्तारलाई प्रोत्साहित गर्न आगामी दिनमा देहायबमोजिमका व्यवस्था मिलाइने छ,’ जारी वक्तव्यमा भनिएकाे छ।  

प्रकाशित मिति:April 27, 2020