सानुलाई मेरो चक्लेट

  Sampatti News

May 3, 2020

केही बर्स अगाडि को कुरा हो
हरेक पटक हामी भेट्नु भन्दा पहिले उनी मलाइ फोन गर्थिन अनि भन्थिन “मलाइ के ल्याइ दिनु हुन्छ?”
म हाँस्दै जवाफ दिन्थे “सिंगै म आउदै छु त, अरु के चाहियो तिमिलाइ?”

उनी जिद्दी गर्दै भन्थिन “चाहिन्छ के, हजुरले मात्र हुदैन। अरु कुरा पनि चाहिन्छ मलाइ।”
म सानो बच्चालाइ सोधे झै स्वर बनाएर उनलाइ सोध्थे “के चाहिन्छ त मेलो सानूलाई ? के ल्याइ दिनु ?”

उनी फुर्किदै भन्थिन “चक्लेट ल्याइ दिनु है?”
म जिस्काउदै भन्थे “दुई रुपैयाको ले हुन्छ नि?”

उनी उस्तै जिद्दी स्वरमा भन्थिन “नाइ के, मलाइ त डेरि मिल्क चाहिन्छ।”

म हांस्दै भन्थे “हवस हजुर, ल्याइ दिन्छु।”

केही समय पछि हाम्रो भेट हुन्थ्यो। उनी आफै मेरो गोजिमा हात हालेर “डेरी मिल्क” निकाल्थिन अनि अलिकती मलाइ खुवाइ दिदै फेरि आफू खादै मायालु स्वरमा भन्थिन “हरेक पटक मलाइ भेट्दा हजुरको गोजिमा डेरि मिल्क हुन पर्छ है?”

म मुस्कुराउदै भन्थे “हवस प्यारी, सधै लिएर आउंछु।”

यसरी नि हरेक पटक उनको लागि डेरि मिल्क किनेर लग्दा लग्दै, म आफैलाइ पनि त्यसको नसा झै भइ सकेको थियो। उनी संग भेट नहुने दिन पनि म डेरि मिल्क किनेर खाने गर्थे। धेरै जसो मेरो गोजिमा एउटा न एउटा डेरि मिल्क हुन्थ्यो नै ।

समयले भनौं या त भाग्यले उनको र मेरो सम्बन्ध छुटाएर छोड्यो। हाम्रो सम्बन्ध छुटे पनि मेरो डेरि मिल्क खाने बानी भने छुटेन कहिले ।

केही बर्ष पछि एक दिन, उनको र मेरो अनपेक्षित भेट भयो अस्पतालमा। उनको साथमा एउटा सानो बच्चा पनि थियो। सोचें बोलाउदिन भनेर तर सकिन आफुलाइ रोक्न। आफुलाइ सम्हालेर खुशी भएको अभिनय गर्दै नजिकै गएर सोधे “अरे, तिमी कसरि यहाँ ?”

उनि मलाइ देखेर चकित भइन, अनुहार रातो बनाएर केहीबेर चुपचाप मेरो अनुहारमा हेरि रहेन।केहिबेर पछि सानो स्वरमा भनिन “माइत आएको थिए, छोरालाई ज्वरो आएर अस्पताल लिएर आएको।”
मैले उनको छोरालाइ हेर्दै भने “ओहो! तिम्रो त छोरा पनि ठूलो भै सकेछन। लगभग तिमि संग अनुहार मिल्दो रहेछ।”

उनी केही नबोली चुपचाप उभिइ रहिन अँध्यारो अनुहार बनाएर। मैले उनको छोरालाइ हेर्दै सोधे “बाबू चक्लेट खान्छौ?”

छोराले टाउको हल्लाउँदै खान्छु भने इसारा गर्यो।
सधै झैं, त्यो दिन पनि मेरो गोजिमा एउटा डेरि मिल्क थियो। मैले गोजिमा हात हालेर “डेरि मिल्क” निकाले अनि उनको छोराको हातमा थमाइ दिए। त्यो दिएपछी उनका छोराको अनुहारमा त खुशी झल्कियो तर उनका आँखाबाट भने आंशुका थोपाहरु बाहिर निस्कन थाले।।

प्रकाशित मिति:May 3, 2020