सीमामा अलपत्र नेपालीलाई तत्काल नेपाल ल्याउन माग

  Sampatti News

May 11, 2020

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बिहानको बैठकमा नेपाल—भारत सीमामा अलपत्र परेका नेपाली नागरिकलाई तत्काल नेपाल ल्याउनुपर्ने माग गरेका छन् ।


सांसदहरुले कोरोना भाइरसको जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने सर्त सहित नेपाल ल्याउन सरकार समक्ष माग गरेका छन् ।


प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद अमरेशकुमार सिंहले परिक्षण र क्वारेन्टाइन व्यावस्था मिलाएर सीमामा बसेका नेपालीलाई नेपाल ल्याउनु पर्ने बताएका छन् । उनले सीमामा रहेका नेपालीहरुलाई नेपाल ल्याउने दायित्व सरकारको रहेको बताए । उनले भने—“के सीमामा बसेका नेपाली नागरिक होइनन् ? तिनलाई स्वदेश ल्याउनु सरकारको दायित्व होइन ?”


प्रतिपक्षी सांस सिंहले ल्याउनु पर्ने बताएपनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खेमप्रसाद लोहनीले कोरोना रोकथाममा सरकारको प्रयास प्रशंसनीय भएकाले सीमा नाकामा अझै कडाई गर्नुपर्ने र विदेशमा रहेका नागरिकको उपचारमा पहल गर्न आवश्यक रहेको बताएका हुन् ।


कविताबाटै गगनको व्यङ्ग्य ओलीलाई

कांग्रेस सांसद गगन थापाले सरकारले जनताको समस्यालाई ध्यान नदिएको भन्दै व्यङ्ग्यात्मक बाल कवितामार्फत् प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

सांसद थापाले पछिल्लो समय प्रधानमन्त्री ओलीले लगातार कतिवा सार्वजनिक गरिरहेको कुरा स्मरण गराउँदै नेपालीलाई अब आँसु आए बरु त्यही कविताले आउँछ भन्ने व्यंग्य कसे ।


कविता यसप्रकार रहेको थियोः


म त भाग्यमानी
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको !
यस्तो सबल सरकार छ, सीमा कसले मिच्नी
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी !!
सयौं कोश हिँड्दा पनि श्रमिक छैनन् आहत
गरिबलाई सम्मान छ, सरकारबाट राहत !
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ति नेपाली नै हैनन् !!
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने !
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन्, ओम्नी र यति
सरकार यस्तो इमानदार यस्तो स्वाभिमानी
आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानी
सबैतिर वाह ! वाहै ! यस्तो विकास देख्दा
पत्रकार नि दंग छन, यी समाचार लेख्दा !!
कोमल हृदयका प्रधानमन्त्री, आँशुकवि हाम्रा
दिन नबिराई सिर्जना छ, आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत–कविता भट्याउँदै कालापानी जाउँला !!
सारा नेपाल हाँसेको छ, मेची–काली गाउँछ
आँसु आए बरु त्यही कविताले आउँछ
यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो ! हामी नेपाली त सारै भाग्यमानी !!
अहो ! सारै भाग्यमानी
म त भाग्यमानी

प्रकाशित मिति:May 11, 2020