नयाँ प्रहरी महानिरीक्षक नियुक्ति तयारिमा स्वच्छ प्रतिस्पर्धा

  Sampatti News

June 24, 2020

काठमाडौं । नेपाल प्रहरीमा दुई सातापछि नेतृत्व परिवर्तन हुँदैछ ।
ठाकुरप्रसाद ज्ञवालीले २४ असारमा ३० वर्षे सेवा हदका कारण अवकाश पाउँदैछन् । सामान्यतया आईजिपीले अवकाश पाउनुभन्दा अघिल्लो दिन नयाँ आईजिपीको नियुक्त हुने सम्भावना छ । जसअनुसार आगामी २३ गते प्रहरीले नयाँ महानिरीक्षक पाउने सम्भावना छ ।

नयाँ महानिरीक्षकका प्रतिस्पर्धीमा एआईजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल छन् । विगतमा जस्तो उनीहरुबीच अस्वस्थ्य चलखेल बाहिर देखिएको छैन । यसबाट प्रहरीमा नयाँ संस्कारको सुरुवात भएको चर्चा प्रहरी संगठनमा छन् । दुवै एआईजीका आ–आफ्नो क्षमता भएकाले जसले गृहमन्त्री र प्रधानमन्त्रीको विश्वास जित्न सक्छ उही महानिरीक्षक हुने सम्भावना छ । दुवैले राजनीतिक लबिङ तिव्र बनाएका छन् । गृहमन्त्री रामबहादुर थापा समेत आईजिपी बढुवामा खुलेका छैनन् । अन्तिममा जसले विश्वास जित्छ उही नेपाल प्रहरीको २८ औं महानिरीक्षक हुने सम्भावना छ ।

विगतमा महिना दिन अगाडिदेखि प्रहरी महानिरीक्षकका आकांक्षीबीच अस्वस्थ प्रतिस्पर्धा हुने र सामाजिक सञ्जालदेखि मिडियासम्म एकले अर्कोलाई हिलो छ्यापाछ्याप गरेको दृश्य देखिन्थ्यो । तर, यो वर्ष फरक दृश्य देखिएको छ । बढुवाका आकांक्षीहरुले स्वच्छ प्रतिस्पर्धा गर्ने र जो बढुवा भए पनि एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल प्रहरीमा यो राम्रो परम्पराको सुरुवात हो ।

प्रहरी संगठनकाे पहिलाे प्राथमिकता “अनुशासन” लाई पूर्णता दिदै उनीहरु प्रतिस्पर्धामा रहेका छन् । प्रहरी नै अनुशासित नभएमा जनताले दुःख कष्ट पाउँछ र ‘सत्य सेवा सुरक्षा’को नारा, नारामै मात्र सीमित हुन्छ । नेपाल प्रहरीमा ०४८ सालपछि राजनीति विकृति झांगिदै गयो । राजनीतिक दलका नेताले प्रहरी संगठनलाई आफ्नो स्वार्थ अनुकूल ढाल्दै गएको कारण संगठनमा अनुशासन भन्ने कुरा खरानी भयो । त्यसको धङधङी केही समय अगाडि सांसद अपहरणकाण्डमा निवर्तमान प्रहरी महानिरीक्षकको संलग्नताले पनि स्पष्ट पार्छ । अपहरणको उद्देश्य राजनीति थियो, जसमा प्रहरीकै प्रयोग भयो ।
तर अहिले विगतबाट भावी आइजीले पाठ सिकेका छन् ।

त्यस्तै एआईजी बढुवामा भने अस्वस्थ दौडधुप चलिरहेको छ । आईजिपी ज्ञवालीसँगै एआईजी तारिणी लम्सालले पनि अवकाश पाउँदैछन् । दुई एआईजीमध्ये एक आईजिपी हुने भएकाले त्यो अवस्थामा एआईजीका दुई दरबन्दी रिक्त हुनेछन् । त्यो अवस्थामा कार्यक्षमता र बरियताका आधारमा निरज शाही र प्रद्युम्न कार्कीको बढुवा हुने देखिन्छ । तर, विश्वराज पोखरेल लगायत डिआईजी पनि एआईजी बढुवाको लबिङमा छन् । अहिले एआईजी भए यसपछि आफु आईजिपी हुने पोखरेलको योजना छ । उनका ब्याचका अन्य डिआईजीहरु भने उनलाई रोक्ने खेलमा लागेका छन् । त्यस्तै डिआईजीका केही दरबन्दी थप गर्न पनि गृह मन्त्रालयले छलफल अघि बढाएको छ ।

प्रकाशित मिति:June 24, 2020