गुटबन्दीको खेलले पार्टी एकतालाई विभाजन नजिकै लग्योः प्रधानमन्त्री ओली

  Sampatti News

June 24, 2020

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको बहुमत र गुटबन्दीको खेलले विभाजनको संघारमा पुगिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए ।
बुधबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचलेको गुनासो गर्दै पार्टी विभाजनको संघारमा पुगेको बताएका हुन् ।
ओलीले भने, ‘पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल भएको छ । यसले अनुशासनहीनताको काम गरेको छ ।’

सम्बोधनको अधिकांश समय सरकार र आफ्ना निर्णयको बचाऊ गरेको प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी वैशाख दोस्रो साता ल्याइएको अध्यादेशको भरपूर बचाउ गरे । आफूले गलत गरेका कारण फिर्ता लिएको नभई साथीहरूले भनेका कारण फिर्ता लिएको होु, उनले भने ।

त्यस्तै उनले नेतृत्वलाई खुइल्याएपछि आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्नसमेत नेताहरूलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले यो बैठकले पार्टी एकताको सन्देश दिन सक्नुपर्नेमा समेत जोड दिए । बैठकलाई सम्वोधन गर्दै ओलीले अहिले देखिएका समस्याको सामना राजनीतिक रूपमै गरिने बताए ।

स्थायी कमिटीको जारी बैठक १२ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । यसपछि स्थायी कमिटीमा ७ वटा बुँदामा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति:June 24, 2020