बुधबार साँझ राष्ट्रपति निवासमा रात्रिभोज, को—को उपस्थित रहने ?

  Sampatti News

June 24, 2020

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रात्रिभोजको आयोजना गर्नुभएको छ ।

संसदमा सहभागी सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई डाकिएको रात्रिभोजमा समसामयिक विषयमा छलफल समेत हुने बताइएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाउनु भएको जानकारी दिए ।

उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ । ‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’, उनले भने, ‘सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरूलाई बोलाउनु भएको हो । यो नियमित भेटघाट पनि हो ।’

प्रकाशित मिति:June 24, 2020