प्रचण्ड र ओलीबीच आज पनि छलफल हुँदै

  Sampatti News

July 7, 2020

काठमाडौँ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) पनि भेटवार्ता हुँदैछ।

बिहान १० बजेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको स्रोतले जनाएको छ । ‘उहाँहरु ‘अध्यक्षद्वय’ बीच आज पनि छलफल हुँदैछ, तर समय निश्चित भएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले सम्भवतः बिहान १० बजेपछि छलफल सुरु हुने बताए ।’

पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो।

आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा बसेका हुन्।

नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्। आज र भोलीसम्म नेकपामा सहमति हुने वा नहुने टुंगो लाग्ने एक स्थायी समिति सदस्यले बताए।

पार्टीमा बढेको गतिरोध अत्यका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको भनेर कतिपय सञ्चार माध्यममा आएको समाचारको प्रचण्डको सचिवालयले खण्डन गरेको छ।

‘अध्यक्षद्वयले कुनैपनि प्रकारको कार्यदल गठन गर्नुभएको छैन,’ जुगलले भने, ‘कार्यदल गठन भएको भनी आएका समाचारमा सत्यता छैन।’

प्रकाशित मिति:July 7, 2020