मृत्यु भएका भनिएका बिरामि निको भएर घर फकिए, आफन्तले गरे अस्पताल तोडफोड

  Sampatti News

July 8, 2020

काठमाडौँ । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मंगलबार निको भएर घर फर्किएका छन्। चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए।

भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मंगलबार अस्पतालबाट घर फकिएका हुन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका उनलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेको छ। तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए । “मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु”, उनले भने। अस्पतालको प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गरे। उनले तोडफोडमा आफ्नो संलग्नता नरहेको र आफूले नबोलाए पनि मृत्यु भएको भनिएपछि इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको बताए । एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते अस्पताल लगिएको विकको जेठ २९ गते मृत्यु भएको भनी तोडफोड गरिएको थियो।

बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा. हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए । रगत नरोकिने भन्ने रोगको उपचार गरिएको थियो। रगतमा संक्रमणसमेत भएकाले बचाउन निकै कठिन भएको उनले बताए । यो रोगको संक्रमण भएका बिरामी विश्वमा २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति:July 8, 2020