ब्राजिलका राष्ट्रपतिलाई कोरोना पुष्टि

  Sampatti News

July 8, 2020

ब्रासिलिया । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड—१९) बाट सङ्क्रमित भएका छन्। ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मङ्गलवार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको बताएका हुन्।

सोमबार उच्च ज्वरो आएपछि कोरोना भाइरसको परीक्षण गराएका उनको मङ्गलवार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिँदै उनले भने, ‘डराउनुपर्ने कुनै कारण छैन । यही हो जीवन । जीवन यसरी नै चल्छ ।’
उनले कोरोनालाई सामान्य रुपमा लिँदै आएका छन् । सामाजिक दुरी राख्नुपर्ने चिकित्सकको सल्लाहलाई पनि उनले पटक–पटक मजाकमा उडाएका छन् । कोरोना सङ्क्रमणका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल हो । र, पनि उनले यसलाई सामान्य रूपमा लिन आग्रह गरिरहेका छन् ।

आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्था एकदम ठिक भएको बताए । मास्क फुकालेर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मेरो अनुहारमा हेर्नुहोस् । म एकदमै ठिक छु । भगवानलाई धन्यवाद । मेरो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद । मेरो आलोचना गर्नेलाई पनि धन्यवाद, मलाई केही आपत्ति छैन । तपाईँले चाहे जति आलोचना गर्नुहोस् ।’

प्रकाशित मिति:July 8, 2020