समस्यामा परेका नपाली कामदारका लागि चौमासिक रुपमा १००० रियाल सहयोग गर्ने प्रतिबद्धता : राजदूत प्रो.डा.सिंह

  Sampatti News

November 22, 2018

साउदी अरबका लागि नेपाली राजदूतावासका प्रमुख महामहिम राजदूत प्रो. डा. महेन्द्र सिंह राजपुतको विशेष उपस्थितिमा अरबको पूर्वी क्षेत्र स्थित एस. ओ. एस कम्पनीको सभाहलमा एक दिने साक्षात्कार तथा अन्तरक्रिया सहित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

बदर अल खलिज हस्पिटलका चिकित्सकद्धारा गरिएको निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा करिब १ सय ५० भन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराइ लाभ लिएका थिए ।

उक्त कार्यक्रममा महामहिम राजदूत संगै उपनियोग प्रमुख आनन्द प्रसाद शर्मा, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी, प्रथम सचिव विजय रावत, गैर आवासिय संघ, साउदी अरबका अध्यक्ष नारायण पासवानको समेत उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा  मध्यपूर्वी क्षेत्रकी महिला संयोजक याश्मिन सैयद, वरिष्ठ पत्रकार महेश श्रेष्ठ, वदर अल खलिज हस्पिटलका चिकित्सक डा महम्मद अब्दुल खलिद लगायतको आतित्थ्यमा भएको उक्त कार्यक्रममा बिभिन्न संघ सस्था तथा पीडित श्रमिकहरुले आ-आफ्ना समस्या दूतावासका अधिकारीलाई जस्ताको तस्तै जानकारी गराएका थिए । दूतावासका अधिकारीहरुले नेपाली श्रमिकमा पर्न गएको समस्यालाई छिटो भन्दा छिटो समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

दम्माम र जुवेल क्षेत्रका श्रमिकहरुके उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा राजदूत सिंहले साउदी अरबमा जेल जीवन बिताईरहेका प्रेम राईको रिहाईको लागि जिफन्ट साउदी अरबद्धारा प्रेम राई बचाऊ अभियान सञ्चालन गरेको जानकारी दिएका थिए । साउदी अरब स्थित नेपाली राजदूत सिंहले प्रेम राई उद्धारको लागि एकहजार रियाल अर्थात रू २७००० र अन्य दुई जना अशक्त नेपाली कामदारको परिवारलाई प्रति परिवार साउदी रियाल ५०० हस्तान्तरण गरेका थिए । राजदूत सिंहले साउदीमा आफू रहुन्जेल ठूलो समस्यामा परेका नेपाली कामदारका लागि बर्षेनि ८१ हजार सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा दूतावासद्धारा ७ महिने कार्य सम्पादनको प्रतिवेदन समेत प्रस्तुत गरेको थियो ।

प्रस्तुत कार्य सम्पादन यस अनुसार रहेको छ :-

कामदारको गुनासो संवोधन–१,९७५

सेल्टरमा ल्याई उद्धार गरिएका वा नेपाल पठाईएका–३५

शव ब्यवस्थापन–१२४

माग प्रमाणिकरण– २,०१४

राहदानी वितरण–७१२ भिसा–१७१वारेसनामा–७२

चालक अनुमति पत्र अनुवाद र प्रमाणिकरण–९३

विदामा गई पुन काममा फर्कने सिफारिस पत्र –५७८

क्षतिपूर्ति तथा बिमा रकम–साउदी रियाल १६,३७,४४८.९८ब्लड मनीको मुद्धा फाइल–६२

कागजात प्रमाणिकरण–३०७यात्रा अनुमति पत्र–१२६४ आदि रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:November 22, 2018