अब ५ सयमै टेलिकमको पोस्टपेड सिम

  Sampatti News

July 17, 2020

काठमाडौँ । साउन १ गतेदेखि नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड ५ सय रुपैयाँमै पाईने भएको छ । नेपाल सरकारको निर्णयानुसार साउन १ देखि लागु हुनेगरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकाले अब ५ सय रुपैयाँमै नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड पाइने भएको हो।

अब प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लाग्ने छ भने, हाल पोस्टपेड सिम पहिलो पटक खरिद गर्दा लागु भइरहेको ५ सय रुपैयाँ स्वामित्व शुल्क अब लाग्ने छैन।

हाल नयाँ सिमकार्ड लिनका लागि रुपैयाँ ९ सय ४५ लाग्ने गरेकोमा अब ५ सय रुपैयाँमा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ। ५ सय रुपैयाँमा खरिद गरिने पोस्टपेड मोबाइलमा ४ सय ६० रुपैयाँ क्रेडिट लिमिट समेत रहने छ।

पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लाग्ने छ।

कम्पनीले पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई अझै ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु दिएको छ । जसअन्तर्गत बेसिक प्याक ३ सय ८४ रुपैयाँ, प्रिमियम प्याक ७ सय ४९ रुपैयाँ, गोल्ड प्याक ९ सय ९९ रुपैयाँ, डायमन्ड प्याक १ हजार ४ सय ९९ रुपैयाँ र प्लाटिनम प्याक २ हजार ४ सय ९९ रुपैयाँमा खरिद गर्न सकिने छ। टेलिकमको एप प्रयोग गरेर तथा १४१५ डायल गरेर पनि यी प्याक खरिद गर्न सकिने छ।

प्रकाशित मिति:July 17, 2020