दुर्घटनामा परि मृत्यु भएको परिवारको लागि क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ

  Sampatti News

August 23, 2020

कञ्चनपुर । जिल्लाको महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै शनिबार दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

मृतक बमको शवसहित क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । महाकाली–६ मा शुक्रबार मोटरसाइकल दुर्घटना हँुदा बमको मृत्यु भएको थियो । बम महाकाली–१ का बासिन्दा हुन । स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन् । मोटरसाइकलमा सवार अर्का कुमार बुढा घाइते छन् । भारतीय नम्बरको युके०६एएफ ८४२६ नंको मोटरसाइकल युके०६ए०६ए ५८१२ नं को मोटरसाइकलसित ठोक्किएको थियो ।

मोटरसाइकल ठोक्किएपछि बम बेहोस भएका थिए । उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको थियो । उनीसँगै मोटरसाइकलमा सवार बुढाको खुट्टा भाँचिएको छ ।

समस्या समाधानका लागि छलफल

सवारी दुर्घटनामा परी ज्यान गुमाएका युवकलाई क्षतिपूर्ति माग्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि अहिले छलफल शुरु भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । इलाका प्रहरी कार्यालय दोधारामा मृतक युवकका आफन्तसहित जनप्रतिनिधि र प्रहरीबीच समाधानका लागि छलफल शुरु गरिएको छ ।

छलफलमा नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१ का अध्यक्ष अर्जुनदत्त भट्ट, दिलबहादुर सिंह, प्रहरी निरीक्षक बमलगायत छलफलमा बसेका छन् । स्थानीयवासीले मृतक युवकका परिवारका लागि रु सात लाख क्षतिपूर्तिको माग गरेका छन् ।

प्रकाशित मिति:August 23, 2020