ललितपुर नगर प्रमुखमा सीतारामा हाछेथु

  Sampatti News

August 31, 2020

ललितपुर । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई नगर प्रमुखमा नियुक्त गरेको छ । ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताए। ‘उहाँको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित छन’, नगर प्रमुख महर्जनले भने, ’त्यसैले ल्याएका हौं।’

प्रमुख महर्जनले ट्राफिक प्रहरीमा उहाँको लामो अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझैं दक्ष हुने र नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुने विश्वास रहेको बताए ।

नगर प्रमुख महर्जनले ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यन्वयन गर्न विज्ञका रुपमा हाछेथुलाई नियुक्त गरिएको बताए ।
हाछेथु २०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका हुन्। २९ वर्ष यसै क्षेत्रका बिताएका हाछेथुले नयाँ जिम्मेवारीले थप केही गर्ने ऊर्जा मिलेको बताए।

‘नयाँ जिम्मेवारी प्राप्त भएको छ’, उनले भने, ‘यो जिम्मेवारी र विश्वासले अब फेरि केही नयाँ काम गर्ने ऊर्जा मिलेको छ।’

प्रकाशित मिति:August 31, 2020