देवघाट क्षेत्रमा कोरोना सङ्क्रमित शव व्यवस्थापन स्थल

  Sampatti News

August 31, 2020

चितवन । चितवनमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जङ्गल क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल बनाइएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार मानव बस्तीभन्दा टाढाको जङ्गललाई सङ्क्रमित शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । “जङ्गलभित्र जहाँ मान्छेको आवतजावत र प्रवेश हुँदैन, त्यस क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल छुट्ट्याएर बोर्ड टाँसेका छौँ”, उनले भने

सो क्षेत्रमा अहिले पनि नेपाली सेनाले सङ्क्रमितहरुको शव गाडेर व्यवस्थापन गर्दै आइरहेको छ । चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका १२ सङ्क्रमितको शव सोही क्षेत्रमा नै व्यवस्थापन गरिसकिएको छ ।

देवघाटमा शव व्यववस्थापन हुँदै आएको भन्दा छुट्टै स्थानमा सङ्क्रमितको शव व्यवस्थापन भइरहेको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । उहाँले शव व्यवस्थापनमा समस्या नहोस् भन्नका लागि समितिले आवश्यक सहजीकरण गरिरहेको बताउनुभयो ।

देवघाटधामको शवदाह स्थलमा यसअघिका वर्षमा भन्दा कम शव आउने गरेको निर्देशक घिमिरेले बताए । “अहिले दैनिक पाँचदेखि छ वटा शव आउने गर्छ”, उनले भने, यसअघि दैनिक आठदेखि १० वटासम्म शवदाह हुने गरेको थियो ।” उनले कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञाले सवारी दुर्घटना कम हुँदा मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए ।

सङ्क्रमित बाहेकको शवदाह स्थलमा २५ जनाभन्दा धेरै नजान क्षेत्र विकास समितिले अनुरोध गरेको छ । यस्तै समितिले बाहिरी मान्छेलाई शवदाह स्थलबाट देवघाटका अन्य क्षेत्रमा नजान र सिधै फर्कनसमेत अनुरोध गरेको छ । देवघाटमा चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, हेटौँडा, धादिङलगायतका जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ ।

प्रकाशित मिति:August 31, 2020