यसकारण बस्दैछन् बार्सिलोनामै मेस्सी

  Sampatti News

September 5, 2020

काठमाडौँ । सुपरस्टार खेलाडी लियोनल मेस्सी बार्सिलोनामै बस्ने भएका छन् । झण्डै २ हप्ताअघि बार्सिलोनाबाट बाहिरिन चाहेको जानकारीसहितको आग्रह पत्र क्लबलाई बुझाएका मेस्सीले हाल आएर आफू स्पेनिस जाइन्टमै बस्ने बताएका हुन्।

गोललाई दिएको अन्तर्वार्ताको क्रममा मेस्सीले बार्सिलोनामै ‘हृदय टुटे’ पनि बार्सिलोनामै बस्ने निर्णय गर्नुको कारण मेस्सीले विस्तृत रुपमा बताएका छन् ।

आफूलाई बार्सिलोनाबाट किन्नका लागि तिर्नु पर्ने ७ सय मिलियन युरो तिर्न कुनै पनि क्लबले नसक्ने भएको तथा आफूले जीवन दिएको अति नै माया गर्ने क्लबविरुद्ध खेल्न नचाहेकाले बार्सिलोनामै बस्ने निर्णयमा पुगेको मेस्सीले बताएका छन् ।

३३ वर्षका मेस्सीले बार्सिलोना छोड्नका लागि फ्रि ट्रान्सफरको विकल्पमा छलफल गरे पनि त्यो सम्भव नभएको हो । उनले जुन १० सम्ममा जानकारी गएको भए स्वतन्त्र मूल्यमा क्लब छोड्न पाउने थिए ।

गोलसँग मेस्सीले भनेका छन्, ‘मलाई लागेको थियो कि बार्सिलोना छोड्न म स्वतन्त्र छु । मैले अध्यक्षलाई भनेको थिए। उनले जहिले पनि सिजनको अन्त्यमा मैले क्लबै रहने कि नहरने भनेर निर्णय लिन सक्ने बताए जहिले पनि र उनले अहिले आफ्नो सो वचन कायम गरेनन्।’

उनले अघि भनेका छन्, ‘अब म बार्सिलोनामै बस्ने निर्णयमा पुगेको छु किनकी अध्यक्षले मलाई भने कि–क्लब छोड्नका लागि एक मात्र उपाय ७ सय मिलियन युरो तिर्नु हो । र त्यो असम्भव छ।’

बार्सिलोनासँगको मेस्सीको हालको सम्झौता आउँदो सिजन सकिने छ ।

मेस्सीले भनेका छन्, ‘म स्वतन्त्र मूल्यमा बाहिरिनका लागि जुन १० मा भन्नु पर्ने रहेछ, र उनीहरु मैले त्यो बेला किन भनिन भनेका छन् । तर अहिलेको कोरोना भाइरसको महामारीका बेला ला लिगा लगभग मध्यतिर मात्रै थियो ।’

‘क्लबबाट बाहिरिने अर्को उपाय अदालती प्रक्रिया पनि हो । तर म कहिल्यै पनि बार्सिलोनाविरुद्ध अदालत जाने छैन, मैले माया गरेको क्लब हो, जसलाई मैले आएदेखि आफ्नो सबचिज दिएको छु।’

‘यो मेरो जीवनको क्लब हो, मैले यहिँ मेरो जीवन बनाएँ।’ मेस्सीका पिताले यो हप्ता बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउसँगको भेटको क्रममा आफ्ना छोराले क्लब छोड्न चाहेको र छोड्ने बताएका थिए।

मेस्सीले क्लब छोड्ने बताएपछि उनलाई भित्र्याउने होडमा इंग्लिस क्लब म्यानचेस्टर सिटी सबैभन्दा अघि देखिएको थियो ।

२० वर्ष बार्सिलोनामा रहेका मेस्सीले च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएको ९ दिनपछि क्लब छोड्न चाहेको बताएका थिए । त्यसपछि आएका नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यानको अण्डरमा मेस्सीले प्रशिक्षण गर्नै बाँकी छ ।

मेस्सीले आफूलाई अझै पनि माथिल्लो तहमा खेल्ने, उपाधि जित्ने र च्याम्पियन्स लिगमा खेल्ने मन रहेको बताएका छन् ।

बार्सिलोनामै रहने निर्णय गर्नुको अर्को कारण आफ्नो परिवार रहेको पनि मेस्सीले बताएका छन् । बार्सिलोना छोड्न चाहेको कुरा बताउँदा परिवारमा रुवाबासी नै चलेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘परिवारका सबै रुन थाले, मेरो सन्तान बार्सिलोना छोड्न चाहँदैनन्, उनीहरु स्कूल परिवर्तन गर्न चाहँदैनन्।’ उनले भनेका छन्, ‘म नयाँ गोलको खोजीमा हुनेछु नयाँ चुनौतिहरुको खोजीमा पनि। भोलि म पुनः फर्किने छु बार्सिलोना किनकी यहाँ मेरो सबथोक छ।’ मेस्सी बार्सिलोनाका कीर्तिमानी गोलकर्ता हुन्।

प्रकाशित मिति:September 5, 2020