कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

  Sampatti News

September 9, 2020

काठमाडौं । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् ।

सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता मंगलबारसम्म ५७ हजार नेपाली स्वदेश आएका छन् ।

प्रतिनिधिसभातर्फ काठमाडौंबाट निर्वाचित सांसदहरूको मंगलबार ज्ञापनपत्र बुझ्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउन सुरु भएयता मात्रै विभिन्न नाका हुँदै भारतबाट मात्रै १० लाख बढी नेपाली स्वदेश आएको बताए ।

सरकारले कोरोना महामारी सुरु भएपछि भारतमा रोकिएका नेपालीलाई ल्याउन भन्दै २० वटा नाका खुला गरेको थियो । तर अहिले भने १० नाका मात्रै खुला गरिएको छ

‘नेपाली श्रमिकहरू भारतलगायत विभिन्न मुलुकमा छन्, लकडाउन सुरु भएपछि १० लाख बढी श्रमिक भारतबाट मात्रै स्थल मार्ग हुँदै आएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । भारतबाहेक तेस्रो मुलुकबाट पनि उद्धार गरी यस बीचमा नेपाली श्रमिक र विदेशमा अलपत्र परेका नेपालीलाई ल्याइएको छ,’ उपप्रधान एवं रक्षामन्त्री पोखरेलले भने ।

सरकारले कोरोना महामारी सुरु भएपछि भारतमा रोकिएका नेपालीलाई ल्याउन भन्दै २० वटा विभिन्न नाका खुला गरेको थियो । तर अहिले भने १० नाका मात्रै खुला गरिएको छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार लकडाउन सुरु भएपछि हवाई मार्ग हुँदै न्यून संख्यामा केही विदेशीसहित ५६ हजार नेपाली स्वदेश आएको जानकारी दिए । यस बीचमा २६ हजार नेपाली भने बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ ।

‘लकडाउन सुरु भएपछि हवाई मार्ग हुँदै न्यून संख्याका केही विदेशीसहित ५६ हजार नेपाली स्वदेश आएका छन् । यस बीचमा २६ हजार नेपाली बाहिरिएको तथ्यांकले देखाउँछ,’ अध्यागमन विभागका महानिर्देशक केसीले राजधानीसँग भने ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहदुर बुढाले हाल भने १० विभिन्न नाका हुँदै भारतीय सीमासँग जोडिएका नाकाहरूबाट नेपाली आइरहेको जानकारी दिए ।

‘अहिले १० वटा विभिन्न नाका हुँदै भारतबाट नेपालीहरू आउन पाउँछन्, यताबाट जानेहरू समेत आवश्यक कागजात पु¥याएर गइरहेका छन,’ गृह प्रवक्ता बुढाले भने ।

सरकारले भारतबाट आउनेहरूलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा स्थानीय तहसम्म पुर्याउने गरेको छ । यसरी आउनेहरू नेपाल भित्रिएपछि अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्छ भने सम्बन्धित स्थानमा पुगेपछि क्वारेन्टिनमा बस्नुपर्छ ।

यस्तै, तेस्रो मुलुकबाट आउनेहरूलाई समेत काठमाडौं आएलगत्तै प्रदेशअनुसार नै हेल्डिङ सेन्टरमा राखिँदै आएको छ भने त्यहाँबाट स्वास्थ्य परीक्षण गराएर प्रदेशअनुसार सरकारी पहलमै सम्बन्धित जिल्लासम्म पठाउँदै आइएको छ ।

यसरी हवाईमार्गबाट आउनेहरूले ७२ घण्टाअगाडि पीसीआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनुपर्छ । त्यस्तै, पर्यटन मन्त्रालयले लागू गरेको मापदण्ड पूरा गरेको हुनुपर्छ । यसरी आएकाहरू समेत सरकारले तोकेको समयसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । (यो समाचार आजको राजाधानी दैनिकमा महेश्वर गौतमले लेख्नुभएको छ ।)

प्रकाशित मिति:September 9, 2020