राष्ट्र बैंकका डेपुटी गभर्नर सहित ७ जनामा कोरोना संक्रमण

  Sampatti News

September 25, 2020

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुनः होम क्वारेण्टिनमा बसेका छन् । बैंकका एकजना डेपुटी गभर्नरलगायत केन्द्रीय कार्यालयका सातजना कर्मचारीलाई हिजो कोरोना संक्रमण पुष्टि भएपछि अधिकारीले आजदेखि होम क्वारेण्टिनबाटै कार्यालयको काम गर्ने भएका हुन् । झण्डै एक महिनाअघि पनि उनी एक साता होम क्वारेण्टिनमा बसेका थिए ।

स्रोतका अनुसार बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये एक जना डेपुटी गभर्नर शिवराज श्रेष्ठ, दुई जना संस्थागत योजना विभागका, तीन जना बैंक सुपरीवेक्षण विभागका र एक जना सामान्य सेवा विभागका कर्मचारी रहेको बताइएको छ ।

केन्द्रीय कार्यालयमा एकैपटक सातजनामा कोरोना पुष्टि भएपछि आजदेखि केन्द्रीय बैंकको काम नै प्रभावित हुनसक्ने एकजना कार्यकारी निर्देशकले बताएका छन् । गत साउन र भदौमा मात्र अधिकांशको स्वाब परीक्षण गरिएको थियो । तर, त्यत्तिबेला परीक्षण नेगेटिभ आएपछि कर्मचारीले आफू सँधैका लागि कोरोनामुक्त भएको झैँ व्यवहार गरेकाले अहिले भित्रभित्रै फैलिएको हुनसक्ने स्रोतको दाबी छ ।

प्रकाशित मिति:September 25, 2020