भाटभटेनीले पनि बढायो खसीको मासुको मूल्ये, यस्तो नयाँ रेट

  Sampatti News

September 25, 2020

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले अब खसिको मासुको मूल्य बढाउने निर्णय गरेको छ । बजारमा खसीको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ हुँदा ८ सय ५० रुपैयाँ किलोमा बिक्री गरेको भाटभटेनीले अब भने केही महँगोमा बेच्ने जनाएको छ । अबका केही साता ८ सय ९९ र दशैंका बेला ९ सय ९९ रुपैयाँले बिक्री गर्ने सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै भाटभटेनीले सस्तो मूल्यमा बिक्री गरेको हो ।

भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै नाफा राखेर बिक्री गर्ने गरेको छ ।

‘हामीले नेपालगञ्जबाट खसीको मासु ल्याएर बिक्री गर्दैै आएका छौं, पहिलो हाम्रो लागत प्रतिकिलो ७ सय रुपैयाँ पर्थ्यो र ८ सय ५० रुपैयाँमा बिक्री वितरण गरिरहेका थियौं,’ सञ्चालक गुरुङले भने, ‘अब ल्याउने मासुको मूल्य हामीलाई नै ८ सय ५० रुपैयाँ पर्छ, त्यसैले नयाँ मूल्य ८ सय ९९ राखेर बिक्री गर्छौं ।’
अब दशैंको सिजन आएकाले किसानले नै बढी मूल्य लिने भएकाले बजारमा खसीको मासुको मूल्य बढ्ने उनले जानकारी दिए ।

‘दशैंका बेला प्रतिकिलो ९ सय ९९ रुपैयाँमा बिक्री गर्न सकिन्छ कि भन्ने छ,’ उनले भने ।

उनका अनुसार भाटभटेनीले गोलभेडा, चिनी र आलु पनि बाहिरबाट सस्तो मूल्यमा ल्याएर बिक्री गरिरहेको छ ।

प्रकाशित मिति:September 25, 2020