महानगरपालिकाद्धारा पाटन अस्पताललाई आर्थिक सहयोग

  Sampatti News

January 19, 2021

काठमाडौँ । ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)लाई एक करोड सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र अस्पतालका निर्देशक डा रवि शाक्यले आज सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त रकमको चेक हस्तान्तरण गरे ।

सो क्रममा नगरप्रमुख महर्जनले मुलुक लगभग १० महिनादेखि कोभिड महामारीमा परी मर्माहत अवस्था सिर्जना खडा हुँदा पाटन अस्पतालले उत्कृष्टरुपमा मुलुकका ७७ जिल्लाका मानिसलाई सेवा दिन सफल भएको भनाइ राखे । उनले भने, “अस्पतालले माग गरेअनुरुपको शव भण्डारण गृहको पनि व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।” वाग्मती अञ्चलको १३ जिल्लामा रहेका अस्पतालमध्ये सो अस्पताल एक नम्बरको उत्कृष्ट सेवा दिन सफल भएको सरकारले चर्चा गरेको महर्जनले जानकारी गराए।

अस्पतालका निर्देशक शाक्यले कोरोनाका बिरामीलाई सेवा गर्दै जाँदा महानगरपालिकाले अक्सिजन प्लान्ट खरीद गरिदिएर महत्वपूर्ण सहयोग प्राप्त भएको बताए । उनले भने, “महानगरपालिकाले अस्पतालको आवश्यकता पूर्ति गरी अभिभावकत्व ग्रहण गरिदिएको छ । विगत १० वर्ष पहिले खरीद गरेको प्लान्ट कोरोना कहरको समयमा बिग्रिएकाले दैनिक लगभग तीन सय सिलिण्डर अक्सिजन पूर्ति गर्न ज्यादै मर्का परेको थियो ।” सो प्लान्टले एक मिनेटमा एक हजार २०० लिटर अक्सिजन उत्पादन गर्न सफल हुने शाक्यले जानकारी गराए ।

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटन अस्पताल मुलुकका उच्चदेखि निम्न वर्गका मानिसलाई सर्वसुलभ सेवा सुविधा दिन सफल भइरहेको धारणा राखे । सामाजिक विकास समितिका संयोजक तथा वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीले पाटन अस्पताललाई देशकै नमूना अस्पतालको रुपमा विकास गर्ने गरी सुधारका कामहरु भइरहेको जानकारी दिए ।

प्रकाशित मिति:January 19, 2021