ओलीविरुद्ध अदालतको अवहेलना गरेको दाबीसहित सवोच्चमा रिट दायर

  Sampatti News

January 25, 2021

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीवीरुद्ध अदालतको अवहेलना गरेको दाबीसहित सवोच्च अदालतमा रिट निवेदन पेस भएको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतवार रिट पेस गरेका हुन् । प्रक्रिया बाँकी रहेकाले पेस गरेको रिट दर्ता भने अझै नभएको सर्वोच्च अदालतले जनाएको छ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा बहस गरेको विषयमा प्रधानमन्त्रीले अदालतको अवहेलना हुनेगरी टिप्पणी गरेको उल्लेख गरेको निवेदनमा उल्लेख छ। प्रधानमन्त्रीले बोलेको अडियो भिडियोसहित निवेदन पेस गरिएको पनि निवेदनमा उल्लेख छ।

‘प्रधानमन्त्रीलाई झिकाई अदालतको अवहेलनामा कारबाही चलाई हदैसम्मको सजाय गरिपाऊँ’, निवेदनमा उल्लेख छ, ‘सामान्य व्यक्तिलाई पनि क्षम्य नहुने व्यवहार प्रधानमन्त्रीजस्तो जिम्मेवारलाई झनै क्षम्य हुँदैन ।’

निवेदनमाः

‘माघ ९ मा कार्की व्यंक्वेटमा भएको पार्टी कार्यकर्ता भेलामा अदालतमा गरेको बहसलाई लिएर एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन भन्दै सर्वोच्चमा हुने बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे भनेर निन्दायुक्त शब्द प्रयोग गरिएको छ।

सार्वजनिक रूपमा कानुन व्यवसायीलाई हास्य पात्रको रूपमा प्रस्तुत गरी प्रधानमन्त्रीले संविधानको धारा १२८ उपधारा ४ बमोजिम अदालत र इजलासको अवहेलना गर्नुभएको छ ।’

संविधानले नै कानुन व्यवसायीलाई अदालतमा उपस्थित भएर बहस पैरवी गर्ने अधिकार दिएको छ। प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले कसैको अपमान गर्नु पदीय मर्यादाविपरीत रहेको रिट निवेदकको दाबी छ । ‘उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले कारवाही गरिपाउन अनुरोध छ’, रिटमा भनिएको छ।

प्रकाशित मिति:January 25, 2021