९० किसानलाई हाते ट्र्याक्टर

  Sampatti News

February 19, 2021

काठमाडौँ । पहाडी जिल्ला लमजुङमा अनुदानमा यहाँका ९० जना किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । कृषिमा यान्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाको बेंसीशहर नगरपालिकाले नगरभित्रका ९० जना किसानलाई आज हाते ट्र्याक्टर वितरण गरेको हो ।

नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई ट्र्याक्टर वितरण गर्नुहुँदै कृषिमा यान्त्रीकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले किसानलाई हाते ट्र्याक्टर वितरण गरेको बताए । उनले नगरपालिकाले अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराएपछि बाँझो जग्गा प्रयोगमा आउन थालेको बताए । वैदेशिक रोजगारको सिलसिलामा विदेश पलायन भएर गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनःप्रयोगमा ल्याउन हाते ट्र्याक्टर प्रभावकारी भएको नगरप्रमुख अर्यालले बताए ।

यस नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु २५ लाख २० हजार बजेटमा ट्र्याक्टर खरीद गरी किसानलाई वितरण गरेकोे नगरको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताए। नगरपालिकाले यस वर्ष तीन प्रकारको हाते ट्र्याक्टर वितरण गरेको छ । नगरपालिकाले यस वर्ष सात हर्सपावर डिजेल वाला, सात हर्स पावर पेट्रोल वाला र छ हर्सवापरको गरी तीन प्रकारको ट्र्याक्टर वितरण गरेको छ । रु ५० हजार मूल्यपर्नेमा ५० प्रतिशत अनुदानमा रु २५ हजार किसानको रु २५ हजार नगरपालिकाको, रु ६० हजार र रु ७० हजार पर्नेमा रु २८ हजार नगरपालिकाको र बाँकी किसानको गरी वितरण गरेको कृषि शाखा प्रमुख सूर्यप्रसाद सेढाईंले बताए ।

गत वर्ष माग भई आएका सबै १०६ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर विरतण गरेको थियो । यस वर्ष भने हाते ट्र्याक्टरका लागि ३०० जना किसानको आवेदन परेकामा ९० जनालाई मात्र विरतण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले मिनिटिलर वितिरणसँगै भाडामा एकरुपता ल्याउन मिनिटिलरको भाडासमेत निर्धारण गरेको छ । पछिल्लो समय गोरु पाउन गाह्रो, युवा पुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा खेतालाको अभाव हुनेलगायतका समस्याले गर्दा गाउँमा खेतीयोग्य जमीन बाँझो रहन थालेको थियो । यस ट्र्याक्टरको प्रतिघण्टा ७०० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति:February 19, 2021