सिंहदरवारभित्रै म्याद सकिएका खाद्य वस्तुः केन्द्रीय क्यान्टिनलाई १० हजार जरिवाना

  Sampatti News

February 23, 2021

काठमाडौँ ।सिंहदरबार भित्रैको क्यान्टिनमा म्याद सकिएका खाद्यवस्तुहरु पाईएको छ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार भित्र नै म्याद सकिएका र अखाद्य वस्तु विक्रिवितरण भइरहनुको साथै यहाँ स्थित क्यान्टिन (चमेना गृह)हरूमा उपभोग्य म्याद समाप्त भएका खाद्य वस्तु बिक्री वितरण मात्रै होइन, उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतका कामहरू गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले शुक्रवार गरेको अनुगमनका क्रममा सिंहदरवारभित्रका शतप्रतिशत क्यान्टिनमा म्याद सकिएका खाद्य सामग्री बिक्री गरेको भेटिएको छ ।

सिंहदरवारभित्रका कर्मचारी र सेवाग्राही लक्षित तीन वटा केन्द्रीय क्यान्टिन (कन्चन चमेना गृह), अर्थ मन्त्रालय परिसरमा सञ्चालित म्यानेजमेन्ट सर्भिस र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरस्थित गोसाईंकुण्ड भोजनालयमा अनुगमन गरिएकोमा तीन वटै मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको हो । जसमध्ये केन्द्रीय क्यान्टिनलाई कारबाही स्वरूप जरिवाना गरिएको छ ।

कन्चन चमेना गृहका नाममा सञ्चालित उक्त क्यान्टिनले कागजात देखाउन नसकेपछि कारबाही स्वरूप १० हजार जरिवाना गरिएको छ । कागजपत्र मात्र होइन, क्यान्टिनको किचनमा फोहोर देखिएपछि सफाइ गर्न समेत निर्देशन दिइएको छ ।

यस्तै अर्थ मन्त्रालय परिसरमा रहेको म्यानेजमेन्ट सर्भिस र उद्योग मन्त्रालयमा सञ्चालित गोसाईंकुण्ड भोजनालयले म्याद सकिएका पानी, पेय पदार्थ र परोठाहरु विक्रिवितरण गरेको पाइएकोले नष्ट गरिएको छ । यति मात्रै होइन, क्यान्टिनमा प्रमाणीकरण नै नभएका तराजु राखिएको पनि पाइएको विभागले जनाएको छ । ती क्यान्टिनहरूबाट ३ हजार १ सय ४५ रुपैयाँ बराबरको पेय पदार्थ र अन्य खाद्य सामग्री बरामद गरी नष्ट गरिएको पनि विभागले जनाएको छ ।

तीन वटै क्यान्टिनलाई आवश्यक कागजपत्र सहित ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशनदिँदै मापदण्ड अनुसार मात्र सञ्चालन गर्न निर्देशनसमेत दिइएको छ ।

देशको प्रधानमन्त्रीको कार्यालयदेखि मुख्यसचिवसमेत बस्ने परिसरमै वर्षौँदेखि बिना मापदण्ड र गुणस्तरहीन खाद्य पदार्थहरूको विक्रिवितरण हुनु र स्वयं कर्मचारीहरूले नै सो उपभोग गर्न बाध्य हुनुले बत्ती मुनिको अँध्यारो उखान चरितार्थ भएको एक उपसचिवको भनाई छ । ‘जहाँ नीति निर्माण हुन्छ र जसले त्यसको कार्यान्वयन गर्छन् तिनीहरूकै हविगत यस्तो छ भने अन्यको के कुरा गर्नु’ ती उपसचिवले भने, ‘उच्च पदस्थहरूका लागि मन्त्रालय तथा तारेबाटै बाट खाजा जाने भएपछि बाँकी को त के मतलब र ?’

सिंहदरवारभित्र क्यान्टिन सञ्चालन गर्दा नमुना क्यान्टिन सञ्चालन हुनुपर्ने भए पनि त्यति नै गर्न नसके पनि कम्तीमा मापदण्ड त पुर्‍याउनु पर्ने उनको भनाई छ ।

यस अघि प्रधानमन्त्रीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख एवं प्रवक्ता विनोद बहादुर कुँवरको संयोजकत्वमा गठित समितिले सिंहदरवार परिसर सरसफाइदेखि गुणस्तरहीन खाना खुवाउने दर्जनौँ क्यान्टिनहरू बन्द गराएका थिए ।

प्रकाशित मिति:February 23, 2021