सर्वोच्च अदालतले सही फैसला गर्नेमा हामी विस्वस्त छौँः प्रचण्ड

  Sampatti News

February 23, 2021

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्नेमा आफु विस्वस्त रहेको बताए । मंगलबार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन सम्बन्धी अदालतमा रहेको मुद्दाको सही फैसला हुने विश्वास व्यक्त गरेका हुन् ।

७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि अहिले विभिन्न ढंगले लडाईं चलिरहेको अवस्थामा अदालतले सही फैसला गर्छ भन्ने विश्वास गर्नुपर्ने बताए । उनले भने, ‘लडाईँ विभिन्न ढंगले चलिराखेकै छ । यसो भन्नुको तात्पर्य के होइन भने हाम्रो अदालतप्रति विश्वास छैन भन्न मैले खोजेकै छैन । मैले सबै सभामा भनेको छु अदालतमा मुद्दा छ अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ ।’

संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै अध्यक्ष दाहालले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पौष ५ गतेदेखि आज फागुन ११ गतेसम्म हामी नयाँ युद्ध लडिराखेका छौं । देशव्यापी युद्ध चलिराखेको छ । तपाई हामी सबै युद्धमै छौं । अर्को पक्ष जसले यसलाई अपहरण गर्न खोजेको छ, ७०–७१ वर्षको आन्दोलनका उपलब्धीहरुलाई त्यो हतियार बन्द हुन खोज्छ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिदैछ । हामी रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौं ।’

धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले विभाजन गर्न ठूलो षडयन्त्र भइराखेको बताए । आफूहरु एकताबद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भएपनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको उनले बताए । उनले भने, ‘पार्टी धेरै दुःखले एकतावद्ध गरिएको हो । धेरै मेहनत गरिएको हो । हामी सबैको समर्थन र योगदान त्यसमा छ । यसलाई विभाजन गर्ने निकै ठूलो षडयन्त्र र कसरत अहिले भइनै राखेको छ । भइनै सक्या छ ।’

पार्टी फुटाउने षड्यन्त्र पूरा नहुने अध्यक्ष दाहालको भनाइ छ ।

प्रकाशित मिति:February 23, 2021