अदालतको फैसला अनपेक्षित नै हो तर देशको शासन मान्ने पार्टी भएकाले फैसला स्वीकार्छौँः ज्ञवाली

  Sampatti News

February 24, 2021

काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन् ।

ज्ञवालीले फैसला अनपेक्षित भएपनि स्वीकारेर जाने मन्त्री ज्ञवालीले बताएका हुन् । ‘सामान्यतया यस्तो फैसला अपेक्षित थिएन। तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने ।

जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने चिन्ता ज्ञवालीले व्यक्त गरे । ‘जे समस्या हुने देखेका थियौं, त्यो त कायमै रहने भयो । तर, यो कुरा पछि भयो । अहिलेलाई अदालतको फैसला स्वीकार गर्छौं’, उनले भने ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको फैसलाले राजनीतिक समस्या समाधान नगर्ने बताएका छन् । ‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ’ रिमालले ट्विटरमा लेखेका छन्, ‘यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।’

प्रकाशित मिति:February 24, 2021